काठमाडौं ।
आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा इंग्ल्यान्ड टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपिएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इंग्लिस काउन्टी खेल्दै आएका बेन चाल्सवर्थलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ ।
३७ वर्षीय विकेटकीपरले इंग्ल्यान्डबाट ३ एकदिवसीय खेलिसके । सन् २०२१ मा पाकिस्तानविरुद्ध उनले ती तीनै खेलमा खेलेका थिए । लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिएका थिए ।
‘जोहन सिम्पसनले आफ्नो प्रमाणित नेतृत्व क्षमता, अनुभव र संयमता यस समूहमा लिएर आउने छन्, देव्रहाते विकेटकिपर ब्याटर उनले काउन्टीमा वर्षौ देखि सफलताहरु पाउदै आएका छन्,’ काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिम्पसनको बारेमा भने, ‘उनी अहिले ससेक्सको नेतृत्व पनि गरिरहेका छन् । उनको व्यवसायीकता र शान्त स्वभाव अमुल्य छ । काठमान्डु गोर्खाज परिवारमा उनलाई आवद्ध गर्न पाउँदा हामी निकै खुशी छौं र उनको आगमनले हाम्रो ब्याटिङ र विकेटकिपिङलाई थप बलियो बनाएको छ ।’
सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढि रन बनाएको अनुभव छ । २ सय २९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन् ।
सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १ सय २९ रन बनाएका थिए । यो उनको पछिल्लो खेल रहेको थियो । त्यस्तै उनले १ सय १५ लिष्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका थिए ।
टि ट्वान्टीमा उनले १ सय ९५ खेलमा झन्डै १ सय ३० को स्ट्राइक औसतमा ३ हजारभन्दा बढी रन बनाएका छन् । ससेक्स अघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए । उनले द हन्ड्रेडमा लंकासायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेल्दै आएका छन् । भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेल्दै आएका छन् ।











प्रतिक्रिया