अफगानिस्तानका प्रशिक्षकले विश्वकपपछि राजीनामा दिने


लन्डन ।

अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जोनाथन ट्रोटले २०२६ को पुरुष टी–२० विश्वकपपछि आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

जुलाई २०२२ मा अफगानिस्तानको प्रमुख प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेका ट्रोटले आफ्नो कार्यकालमा अफगानिस्तानलाई नयाँ उंचाईमा पु¥याएका छन् । ट्रोटको नेतृत्वमा अफगानिस्तान क्रिकेट टोलीले ऐतिहासिक उपलब्धिहरू हासिल गरेका छन् । उनको प्रशिक्षणमा पहिलो पटक अफगानिस्तान आईसीसी प्रतियोगिताको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । साथै, २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानले इंग्ल्याण्ड, श्रीलंका र पाकिस्तान जस्ता प्रमुख क्रिकेट शक्तिहरूसँग ठूलो संघर्ष गर्दै विजय हासिल गरेको थियो ।

राजीनामा घोषणा गर्दै ट्रोटले भने, “अफगानिस्तानको क्रिकेट टोलीसँग काम गर्नु मेरो लागि गर्वको कुरा रह्यो र यस अनुभवलाई म कहिल्यै भुल्न सक्दिन । खेलाडीहरूको क्रिकेटप्रतिको समर्पण र लगावले मलाई सधैं प्रेरित गरेको छ । म अफगानिस्तान क्रिकेटको भविष्यका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।” ट्रोटको नेतृत्वमा अफगानिस्तान क्रिकेटले नयाँ उचाईं हासिल गरे पनि अब यो टोली नयाँ चुनौतीहरूको सामना गर्ने तयारीमा छ । क्रिकेटको भविष्य उज्ज्वल र प्रेरणादायी होस् भन्ने कामना उनी र सम्पूर्ण क्रिकेट प्रेमीहरूले गरेका छन् ।