दर्शक रिझाउँदै परान पायो जेरीले भन्दा बढी शो


गत शुक्रबार देशभरबाट प्रदर्शनमा आएको फिल्म परानले दिनानुदिन दर्शक रिझाउँदै आएको पाइएको छ।
भावनात्मक पारिवारिक कथा पेस गरिएको फिल्म हेरेर दर्शक भक्कानिएका छन् भने मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। फिल्म हेर्ने धेरै दर्शकहरू भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेका छन्। दर्शकले मुख्य रूपमा फिल्मको कथा र प्रस्तुतिलाई मन पराएका छन्।

यसको कथानकको लयले दर्शकलाई विस्तारै भावनात्मक रूपमा बाँध्दै लगेर कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ, कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म बनाउँछ। आफू जन्मिएको, हुर्किएको ठाउँभन्दा पर पुगेकालाई यसले अझ भावनात्मक बनाउने काम गरेको छ। फिल्मले पस्किएको पारिवारिक कथामा दर्शकले धेरैजसो क्षणमा आफूलाई अनुभूत गर्छन्। यसले परिवारको अर्थ, महत्व, बाबुछोराको सम्बन्ध, पुँजीवादले खलबलिएका नेपाली परिवार, दुई पुस्ताबीच आ–आप्mना सोच र सपनाले उत्पन्न हुने परिस्थितिका द्वन्द्वका विषय प्रस्तुत गरेको छ।

लोकप्रिय हास्य टेलिसिरियल सक्किगोनीमा काकु नामक पात्रमार्फत चिनिएका दीपकप्रसाद आचार्यको डेब्यु निर्देशन रहेको फिल्मको केन्द्रीय भूमिकामा रहेका ख्यातिप्राप्त अभिनेता नीर शाहको काम मन पराइएको छ। परिवार, माया र सम्बन्धका यथार्थ दृश्यले मानिसको मन छोएका कारण फिल्मले उत्कृष्ट वर्ड अफ माउथ प्राप्त गरिरहेको छ।

सुरूमा ६४ शो पाएको परानले दर्शक रिझाउन थालेपछि रिलिजको छैटौं दिनमा आइपुग्दा देशभर कुल १ सय ३२ शो पाएको छ। फिल्मले जेरी अन टपलाई समेत पछाडि पार्दै सर्वाधिक शो पाएको हो।

व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्म मन पराइएपछि हलहरूले यसको शो संख्या बढाउन थालेका छन्। फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङलगायतले अभिनय गरेका छन्।