काठमाडौं ।
सरकारले वीरगञ्ज भन्सार कार्यालयमा कारोबारमा आधारित भन्सार मूल्यांकन प्रणाली लागू गरेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा गरिएको घोषणाअनुसार असोज ८ गते विराटनगर भन्सारमा परीक्षण गरिएको यस प्रणालीलाई विस्तार गर्दै वीरगञ्जमा पनि कार्यान्वयन गरिएको हो ।
अर्थमन्त्री खनालका अनुसार यो प्रणालीले भन्सार प्रक्रिया पारदर्शी, छिटो र वैज्ञानिक बनाउनेछ । नयाँ प्रणालीले भन्सारमा जाँचपास भएका सबै वस्तुको मूल्य विवरण अनलाइन डेटाबेसमा संकलन गर्छ । यसबाट समान वस्तुको अन्तर्राष्ट्रिय मूल्यको तुलनात्मक विश्लेषण गर्न सकिने भएकाले वास्तविक कारोबार मूल्य पत्ता लगाउन सहज हुने सरकारी अधिकारीहरूको दाबी छ ।
अर्थ मन्त्रालयका अनुसार, यो प्रणाली विश्व व्यापार संगठनद्वारा मान्यता प्राप्त विधिमा आधारित छ र प्रत्येक ६ महिनामा सन्दर्भ पुस्तिका अद्यावधिक गर्ने झन्झट हटाइदिन्छ । यसअघि भन्सारले राख्ने सन्दर्भ मूल्यसूचीका कारण व्यवसायीहरूले बारम्बार मूल्य असमानता र विवादको गुनासो गर्दै आएका थिए । नयाँ प्रणालीले न्यून वा अधिक बिजकीकरण प्रवृत्तिमा नियन्त्रण ल्याउनेछ ।
यसैबीच, वीरगञ्ज नाका हुँदै चालु आवको पहिलो त्रैमासिकमा ४ अर्ब ६१ करोड रूपैयाँ मूल्य बराबरका खाद्यान्न वस्तु आयात भएका छन् । भन्सार कार्यालयका अनुसार, धान, चामल, मकै, माल्टलगायत १६ थरिका खाद्यान्न आयात भएका हुन् । गत आवको सोही अवधिको तुलनामा यो आयात १ अर्ब ५६ करोड रुपियाँले वृद्धि भएको छ । उक्त अवधिमा मकै ३ करोड ३६ लाख किलो ( १ अर्ब ८० करोड रुपियाँ), धान ३ करोड ९१ लाख किलो (१ अर्ब ४६ करोड रुपियाँ), चामल ९४ लाख किलो (८९ करोड ८२ लाख रुपियाँ)बराबरको आयात भएको छ । आयातमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, कनिका, दलहनको पिठो र अन्य अन्नजन्य वस्तु पनि समावेश छन् ।











प्रतिक्रिया