काठमाडौं ।
पूर्ववर्ती सरकारले दुग्ध विकास संस्थान (डीडीसी)मा महाप्रबन्धक पद डेढ वर्षदेखि खाली राखेर संस्थानको विनियमावली उल्लंघन गर्दै आठौं तहका सञ्जिव झालाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएकोे खुलेको छ । जेन–जी आन्दोलनको अघिल्लो दिन भदौ २२ गते आइतबार मन्त्रीस्तरीय निर्णयबाट संस्थानको आठौं तहमा कार्यरत वरिष्ठ प्रशासकीय बजार अधिकृत झालाई सो जिम्मेवारी दिइएको थियो ।
संस्थानमा महाप्रबन्धक पद १८ महिनादेखि रिक्त रहेको छ । १२औं तहको कर्मचारीलाई महाप्रबन्धक नियुक्ति गर्ने कानुनी व्यवस्था छ । सोही प्रावधानबमोजिम महाप्रबन्धको लागि २०७८ चैत्रमा विज्ञापन खुल्ला गरिएपछि मन्त्रालयले सो विज्ञापन समेत रद्द गरेको थियो । सो निर्णयले वर्तमान सरकारका कृषि तथा पशुपन्छी मन्त्री डा.मदनप्रसाद परियारलाई टाउको दुखाइको विषय बनेको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाको पत्रमा ‘अर्को व्यवस्था नभएसम्मको लागि संस्थानको आर्थिक अधिकार सहित निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकिएको व्यहोरा यस मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८२ भदौ २० गतेको निर्णयानुसार अनुरोध छ,’ भनिएको छ ।
मन्त्रालयले आफू अनुकूल निमित्त महाप्रबन्धक ल्याउने योजना अनुसार नवौं तहमा कार्यरत वरिष्ठ डेरी टेक्नोलोजी अफिसर राजेन्द्रप्रसाद अधिकारीलाई मन्त्रालय तानेर झालाई जिम्मेवारी दिएको थियो ।मन्त्रालयले दुई वर्षभित्रमा संस्थानलाई प्रदेशलाई हस्तान्तरण गर्ने सम्बन्धमा अध्ययन र छलफलको लागी भन्दै अधिकारीलाई भदौ १० गते मन्त्रालय झिकाइएको थियो । झालाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णयप्रति असन्तुष्ट संस्थानका कर्मचारी र सञ्चालक समितिले मन्त्रालयमा ध्यानाकर्षण गराउँदै आएको छ ।
मन्त्रालयका सचिव डा. दीपककुमार बरालले भएका कर्मचारीमध्ये वरिष्ठलाई निमित्तको जिम्मेवारी दिने संस्थानको विनियमावलीमा भनिएको छ । त्यहीअनु्सार निमित्तको जिम्मेवारी दिइएको बताउनुभयो ।संस्थानको कर्मचारी प्रशासनको विनियमावलीको २०६३ परिच्छेद १२ को नियम १४७ को उपनियम (२) बमोजिम वरिष्ठतम अधिकृतले स्वतः निमित्त महाप्रबन्धक भई कार्य गर्ने प्रावधान रहेको छ ।
झा यसअघि खुल्ला प्रतिस्पर्धाबाट संस्थानको महाप्रबन्धक भइसक्नुभएको छ । २०७८ चैत्रमा खुल्ला विज्ञापनमा तोकिएको २ वर्षे पदावधि सकिएपछि २०८० चैत्रमा सोही विवादित लियन पदको आधारमा हाजिर हुन पाउँ भनी निवेदन दिएपछि मन्त्रालयले झिकाई फेरी संस्थाको निमित्त महाप्रबन्धक बनाउने निर्णय गरेको थियो । सरकारको निर्णय, प्रचलित अभ्यास र पद्दति मिचेर संस्थानको कानुनी प्रावधान विपरीत विनियमावली संशोधन गर्ने गरी झाको आठौं तहको लियन पद कायम गर्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया