आगामी मंसिर २६ गते रिलिजमा आउने फिल्म पीआरमा समावेश गीत टाटा बाई बाई सार्वजनिक गरिएको छ।
सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरिएको गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ।

गीतमा भिम बीसीको संगीत, टेक बीसी र प्रीति घिमिरेको स्वर रहेको छ भने कोरियाग्राफी रामजी लामिछानेको छ। सलोन सलिना फिल्म्स्को ब्यानरमा बनेको फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कु“वर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायललगायतले अभिनय गरेका छन्। नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की विशेष भूमिकामा रहेका छन्।
फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित रहेको निर्देशक शोभित बस्नेतले बताए। उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरूप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको छ। ‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्ने विश्वास छ’ निर्देशक बस्नेतले भने।
रञ्जित साह र सन्तोष तिवारीद्वारा प्रस्तुत तथा लक्ष्मण सापकोटा र प्रदीप दाहालद्वारा निर्मित फिल्ममा लेखन गणेश बुढाथोकी, छायांकन सौरभ सायमी र सौरभ लामा, सम्पादन बन्दे प्रसादको रहेको छ।











प्रतिक्रिया