एनपिएलको लागि पोशाक साझेदार एक्स स्टेप बन्यो


काठमाडौं।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि पोशाक साझेदारका रूपमा एक्स स्टेप नेपाल रहने भएको छ । सोमबार एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता यो वर्षका लागि मात्र रहनेछ ।

रेन्बोका प्रबन्ध निर्देशक श्रेष्ठले धेरै वर्ष देखि क्रममा विभिन्न खेलमा प्रायोजन गरेको र एनपिएलमार्फत पहिलो पटक क्रिकेटमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले उपाधिका लागि भिड्ने छन् । एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।