काभामा नेपालको पहिलो खेल कीर्गिस्तानसँग


काठमाडौं।

श्रीलंकामा आजबाट हुने काभा महिला यू–१९ भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कीर्गिस्तानसँग खेल्ने भएको छ ।
सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मंगलबार कीर्गिस्तानसँग खेल्ने भएको हो । यस्तै, नेपालले दोस्रो खेल कार्तिक १९ गते घरेलु टोली श्रीलंका र कार्तिक २१ गते माल्दिभ्ससँग खेल्ने छ ।

यही कार्तिक २३ गतेसम्म श्रीलंकाको कोलोम्बोमा आयोजना हुने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स र कीर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । गत वर्ष माल्दिभ्समा सम्पन्न काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानले उपाधि जितेको थियो भने नेपालले तेस्रो स्थान हासिल गरेको थियो।

यस पटकको नेपाली टोलीमा ६ जना नयाँ अनुहार सामेल गरिएको छ । गत वर्षको यू–२० टोलीबाट जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ टोलीमा सामेल भएका हुन् ।