लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि एमालेको प्रदेशभरि जनप्रदर्शन : नेता राई 

752
Shares

उदयपुर। 

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि कोशी प्रदेशभरि जनप्रदर्शन गर्ने बताएका छन् । 

पछिल्लो जेनजी आन्दोलनलाई ढाल बनाएर अस्थिरता मच्चाउने केही तत्वले लोकतन्त्र र संविधानको मर्ममा नै प्रहार गरेकाले त्यसप्रकारको प्रतिगमनविरुद्ध एमालेले कडा प्रतिवाद गर्ने बताए । 

नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनबाट देशलाई जुनप्रकारको प्रतिगमनतर्फ धकेलिएको छ यसले देशको राष्ट्रियता माथि नै खतरा बढेकाले यसविरुद्ध सशक्त प्रतिवाद गर्न कोशी प्रदेशका १४ जिल्ला नै परिचालन हुने बताए । 

केही दिन अघि प्रदेश कमिटीको बैठकले पछिल्लो घटनाक्रमबाट उत्पन्न परिस्थितिलाई प्रतिगमनको संज्ञा दिएकाले त्यसविरुद्ध एमालेले जिल्ला कमिटीका बैठक बसी, वडा, पालिका र जिल्ला तहमा वृहत् जनप्रदर्शन गर्ने गरी कार्यक्रम अघि सारिएको बताए। 

उनले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि आउँदो कात्तिक २२ गते वडा, २५ गते पालिका र २९ गते सदरमुकामलाई लक्षित गरी प्रदर्शन गरिने उनले बताए । यसैगरी प्रदेश राजधानीमा दशौ हजारको संख्यामा मोटरसाईकल र्याली निकाल्ने गरी तयारी भएको उनले बताए । 

नेता राईले भ्रष्टाचार र सम्पत्ति छानबिनका लागि एमालेबाट निर्वाचित जनप्रतिनिधि र नियुक्ति पाएका व्यक्तिबाट सुरु गर्नसमेत चेतावनी दिएका छन् । उनले भने, ‘म तीन पटक सांसद, एक पटक मन्त्री र साँढे तीन बर्ष कोशी प्रदेशको संस्थापक मुख्यमन्त्री हुनुको नाताले पहिलो छानविन आफैबाट सुरुवात गर्न चाहान्छु, हिम्मत गर्नुस् सुरुवात म बाटै गरौँ  ।

उनले जेनजी आन्दोलनमा देखिएका क्रियाकलापले  नेपाली सेना, प्रहरी र कर्मचारीलाई रिफर्म (सुधार)गर्नु पर्ने समय आएको बताए । उनले भने, ‘यी संगठनका काम गर्ने तौरतरिका ठिक ढंगले नचलेकाले सुधारका लागि सोच्नु पर्ने देखिएको छ । जेनजी आन्दोलनमा नेपाली सेना, प्रहरी र कर्मचारीले गरेका  क्रियाकलाप जनता र राज्यप्रति उत्तरदायि नदेखिएकाले यसको पुर्नसंरचना आवश्यक रहेको उनको भनाई थियो । 

 नेता राईले भने, ‘रिफर्मको अर्थ ती संस्थाहरुमा देखिएका कमजोरी, पुराना अभ्यासलाई हटाएर आधुनिक, संक्षम र पारदर्शी बनाउनु हो, यसका लागि नेकपा एमालेको नेतृत्वको सरकारबाट मात्र सम्भव छ । ‘२०७२ पछि एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य पार्टीका नेताको नेतृत्वमा भएका सरकारले गरेका विकास निर्माणका उपलब्धिलाई लेखाजोखा गरौँ , कसले सबैभन्दा बढी  गर्‍यो, जुनकुरा इतिहासले समेत मूल्याङ्कन गर्ने नै छ ।’ उनले भने । 

जेन्जी आन्दोलनलाई प्रतिगामी घोषणा गर्दै उनले भने, ‘जनताले चुनेका प्रतिनिधिहरू हटाइयो, भौतिक संरचना ध्वस्त बनाइयो र संविधान विपरीत काम भयो ।’ ‘आन्दोलन सुरुमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने उद्देश्य मात्र थियो,नेता राईले भने, ‘तर, भोलीपल्ट परिवर्तनविरुद्धका शक्तिहरू, प्रतिगामी तत्त्व तथा राष्ट्रियताको पक्षमा नदेख्ने र विकास अवमूल्यन गर्ने समूहभित्रबाट जेनजीका नाममा विध्वंस मच्याइयो ।

oplus_0

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका नेता राईले संसद् पुनर्स्थापना नै अहिलेको उपयुक्त बाटो भएको बताए । उनले संसद् पुनर्स्थापनापछि संविधान संशोधन गरी संसद् बाहिरका व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउने र ताजा जनादेशतर्फ जानुपर्ने धारणा राखे । 

नेता राईले वर्तमान सरकार चुनावको नाउमा काँग्रेस र एमालेका उमेदवारलाई मनोनय नै दर्ता नगर्ने, गरिहाले अवरोध सृजना गर्ने र दुबै पार्टीलाई समाप्त पारेर देशलाई विदेशी प्रभावमा पार्ने “खेल”मा लागेको आरोप लगाए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायलाई गोली चलाउन आदेश दिएको भन्ने भनाइलाई खण्डन गर्दै उनले भने, प्रधानमन्त्रीलाई ‘गोली चलाउन आदेश दिने’ नेपालको कानुनको कुन धारामा छ ? अनी कानुनी अधिकार नभएको व्यक्तिले दिएको आदेश कसेले पालना गर्ने, यो केवल केपी शर्मा ओली र एमालेलाई सिध्याउने ‘स्टनबाजी मात्र हो, आदेश त सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सुरक्षा अवस्था हेरी दिने हो ।’