काठमाडौं ।
भारतको तेलंगाना राज्यमा भएको भीषण सडक दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ। दुर्घटना आज (सोमबार) बिहान रंगारेड्डी जिल्लाको चेभेला प्रहरी चौकीअन्तर्गत खानापुर गेट नजिक भएको हो।
साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकृतले बीबीसीसँग कुरा गर्दै दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार दुर्घटनामा दर्जनौँ घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारले सञ्चालन गरेको टीजीएसआरटीसी (Telangana State Road Transport Corporation) को बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्कर यति भीषण थियो कि बस र ट्रक दुवै सडकछेउमा पल्टिएका थिए। उद्धारकर्मीहरूले घटनास्थलमै रहेका घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्याएका छन्।
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै आवश्यक उद्धार र राहतका सबै व्यवस्था तुरुन्त गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति संवेदना व्यक्त गर्दै मृतकका परिवारका लागि आर्थिक क्षतिपूर्तिको घोषणा गरेका छन्। प्रधानमन्त्री कार्यालय (PMO) का अनुसार प्रत्येक मृतकका परिवारलाई भारतीय रुपैयाँ २ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिनेछ। यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने उल्लेख गरिएको छ।
घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीका अनुसार प्रारम्भिक अनुमानमा अत्यधिक गतिका कारण दुर्घटना भएको देखिएको छ।











प्रतिक्रिया