साढे ९ लाख पर्यटक भित्रिए


काठमाडौं।

सन् २०२५ को १० महिनामा करिब साढे ९ लाख विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरसम्मको अवधिमा ९ लाख ४३ हजार ७१६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही वृद्धि भएको छ । सन् २०२४ को १० महिनामा ९ लाख ४१ हजार २४ जना पर्यटक नेपाल आएका थिए ।

पर्यटक आउने मुख्य सिजनको शुरूवातमै सेप्टेम्बर महिना भएको आन्दोलनपश्चात् नेपालमा पर्यटकीय गतिविधि ठप्प हुने आशंका गरिएको थियो । तर, स्थिति सामान्य बन्दै गएपछि पर्यटकहरूले नेपाल भ्रमणलाई यथावत राखेका थिए । अक्टोबर महिनामा मात्रै १ लाख २८ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।
पदयात्रा र पर्वतारोहणको प्रमुख सिजन मानिने अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३.३ प्रतिशत बढी हो । गत वर्षको अक्टोबरमा १ लाख २४ हजार ३९१ पर्यटक आएका थिए । यस तथ्यांकले आन्दोलनका कारण नेपालको पर्यटन बजारलाई धक्का दिएको भए पनि संकटमा भने नपारेको संकेत गरेको छ । नेपाल आउने पर्यटकले दैनिक ४० डलको हाराहारीमा खर्च गर्ने गरेका छन् । साथै उनीहरु करिब डेढ साता नेपाल बस्ने गरेका छन् ।

अक्टोबरमा सबैभन्दा बढी भारतीय पर्यटक १७ हजार २९८ जना आएका छन् । यो हवाई मार्गको तथ्यांक हो । त्यसपछि अमेरिकी १३ हजार २८६, बेलायती ८ हजार ७१८, चिनियाँ ६ हजार ७५५ र जर्मनी ६ हजार ३६६ पर्यटक आएका छन् । पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा आएका पर्यटकमध्ये युरोपेली मुलुकका ४० हजार ६ सय (३१.६ प्रतिशत), सार्क मुलुकका २९ हजार ६० (२२.६ प्रतिशत) र अन्य एसियाली देशका २३ हजार १२७ (१८ प्रतिशत) पर्यटक रहेका छन् ।

त्यस्तै, अमेरिकी मुलुकबाट १६ हजार ४०७, ओसियाना क्षेत्रबाट ६ हजार ८१४, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य क्षेत्रबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन् । सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्मका १० महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् (२ लाख ४३ हजार ३५० जना। त्यसपछि अमेरिका (९३ हजार ९८५) र चीन (७८ हजार ९२९) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बेलायतबाट ४७ हजार २६१, बंगलादेशबाट ४५ हजार २८७, अस्ट्रेलियाबाट ३८ हजार ९८४, श्रीलंकाबाट ३२ हजार १३७, जर्मनीबाट २४ हजार ८४१, थाइल्यान्डबाट २२ हजार २६१ र दक्षिण कोरियाबाट १९ हजार ३२९ जना पर्यटक नेपाल आएका छन् ।

कुल पर्यटक आगमनमध्ये दक्षिण एसियाली देशको हिस्सा ३५.८ प्रतिशत (३ लाख ३७ हजार ५११) रहेको छ । अन्य एसियाली देशबाट २०.९ प्रतिशत (१ लाख ९७ हजार २९६), युरोपबाट १९.१ प्रतिशत (१ लाख ८० हजार १४५), अमेरिकी देशबाट १२ प्रतिशत (१ लाख १३ हजार ४५९), ओसियाना क्षेत्रबाट ४.४ प्रतिशत (४१ हजार ९०२), अफ्रिकाबाट ०.४ प्रतिशत (३ हजार ४७९) र अन्य क्षेत्रबाट ५.५ प्रतिशत (५१ हजार ५१४) पर्यटक आएका छन् ।

पर्यटन बोर्डका अनुसार, सन् २०२५ मा अमेरिकी र युरोपेली पर्यटकको आगमनदर उल्लेख्य रूपमा बढेको छ भने दक्षिण एसियाली देशहरूबाट निरन्तर उच्च संख्या कायम छ । नेपालले हालका वर्षहरूमा विविध गन्तव्य प्रचार र पर्वतारोहण सहजताका कारण विदेशी पर्यटक आकर्षणमा सुधार देखिएको बोर्डको विश्लेषण छ । यस वर्ष १ सय ७५ टोलीका १ हजार ४५० आरोहीले पर्वतारोहण अनुमति लिएका छन् । यसबाट सरकारले २५ करोड ५१ लाख रुपियाँ बराबरको रोयल्टी संकलन गरेको छ । यस वर्ष १ सय ७५ टोलीका १ हजार ४५० आरोहीले पर्वतारोहण अनुमति लिएका छन् । यसबाट सरकारले २५ करोड ५१ लाख रुपियाँ बराबरको रोयल्टी संकलन गरेको छ ।