सर्वसाधारण जनताले खेतबारी, घर, पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा विदेशमा रगत पसिना बगाएर कमाएको पैसा ६–७ वर्षअघि आँखा चिम्लेर सहकारीमा राखे । एकै जनाले एक लाखदेखि १२ करोडसम्म पैसा सहकारीमा राखेका थिए । सहकारीले १४ देखि २२ प्रतिशतसम्म डिपोजिटको ब्याज दिन्छु भनी बचतकर्तालाई लोभ्याएको थियो ।
बैंक, वित्तीय संस्थाले पनि ११ देखि १६ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाए । सहकारीको नौंटकी धेरै नै हुन्थ्यो । वर्षमा एकचोटि बचतकर्ताहरूलाई पिकनिक लैजान्थ्यो भने बर्थ डेमा विभिन्न गिफ्ट । बुढाबुढीलाई दोसल्ला ओढाएर सम्मान गरिन्थ्यो । पैसा तान्न सहकारीले अनेकौ प्रपञ्च गर्ने गथ्र्यो । सहकारी कर्मचारी, अध्यक्ष, सञ्चालकहरू चाहिँ कोट, पेन्ट लगाउँथे ।
कोही दुई पाङ्ग्रे त कोही चार पाङ्ग्रे गाडी चढ्थे । हरेकले दुइटा मोबाइल फोन बोक्ने । त्यो पनि स्मार्टफोन वा आइफोन । घाँटीमा सुनको मोटो सिक्री, हातमा सुनकै बाला । अनि सञ्चालक, अध्यक्ष, कर्मचारीहरू धनी देखेपछि आफ्नो रकम नडुब्ने आशामा मानिसहरूले सहकारीमा पैसा राखे । सहकारी बजार प्रतिनिधिहरू बिहान १० बजेदेखि ५ बजेसम्म खट्थे ।
उनीहरूको तलब पद वा अनुभवअनुसार दश हजारदेखि ५० हजारसम्म हुन्थ्यो । सहकारी अध्यक्ष, सञ्चालकहरू चाहिँ दिउँसो १ बजे कार्यालय आउँथे अनि केही घण्टा काम गरेर घर जान्थे । उनीहरूको तलब लाखौं हुन्थ्यो । सहकारी होस् या बैंक, अन्य वित्तीय संस्थाको कार्यालयमा बचतकर्ता, ऋणी जाँदा जाडोमा गर्मी र गर्मीमा जाडो हुन्थ्यो ।
किनकि त्यहाँ महँगो एसी राखिएको हुन्थ्यो । अनि बचतकर्ता र ऋणीलाई लोभ्याउन चिसो र तातो खुवाउने । उनीहरूसँग मिठो बोली वचन गरिन्थ्यो । हाँसी हाँसी फसाइन्थ्यो । बैंक, सहकारी वा अन्य वित्तीय संस्थाले दुई करोडको धितो राखेर एक करोड कर्जा दिन्थे । त्यसमा दश लाख त घुसै ।
सेवाशुल्क दुई प्रतिशत । ब्याज १६ देखि १८ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । अनि तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमै पचाइदिने । यो कुरा केबल बैंक, सहकारी, वित्तीय संस्थाबाट पीडित भएकाहरूलाई थाहा थियो । यिनीहरूको बाहिर रूप एउटा र भित्री अर्कै भएको धेरै सर्वसाधारणलाई थाहा थिएन ।
जसका कारण ऋणीसँगै बचतकर्ता पनि डुब्नुपर्यो । बैंक, सहकारी, वित्तीय संस्थाहरूको विशेषतः कर्जा लगानी घरजग्गा, गाडी, सेयरमा पाइन्छ । यी वस्तु विलासित हुन् । दलालीहरूले कृत्रिम रूपमा यसको मूल्य बढाएका हुन् । यद्यपि, अरुलाई ठग्ने बैंक, वित्तीय संस्थाहरूले आफू खाल्टोमा परेको कुरा बुझेनन् ।
त्यसैको परिमाणमा पहिलो चरणमा सहकारी डुबेको हो । मै हुँ भन्ने सहकारीहरू घरजग्गा, गाडी र सेयरमा लगानी गरेकै कारण एकाएक भाग्नुप¥यो, डुब्नुप¥यो ।
हिजो कोट, पेन्ट लगाएर चिल्लो गाडीमा चढ्ने सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीहरू आज मास्क लगाएर लुकीलुकी हिँडिरहेका छन् । कतिपय त देशै छोडेर भागिसके । अब पालो बैंकको हो । जग्गा पाँच दशकअघि दश हजार रोपनीमा बिक्री हुँदैनथ्यो । एक रोपनीमा १६ आना हुन्छ । दलालीहरूले खेतको पाटोमा डोजर चलाएर टुक्राटुक्रा पारे ।
अनि त्यँही टुक्रालाई आना नाम दिएर आनाकै २५ लाखदेखि करोडौंमा बेचे । गाडी सिसा, फलाम, प्लास्टिक रबरलगायतबाट बन्छ । यी वस्तुको कबाडीले दुई रुपियाँ किलो दिन्छ । छिमेक भारत र चीनले कबाडीले दुई रुपियाँ किलोमा नलैजाने सामानबाट गाडी बनाए । अनि हामीलाई लाखौंमा बेचे । त्यही गाडी फेरि अटो शोरुमहरूले सर्वसाधारणलाई सयौं गुणा बढी मूल्य अर्थात् एक लाखको गाडी २० देखि ५० लाखसम्ममा बेचे ।
यस्तै, सेयर बैंक, वित्तीय संस्था, जलविद्युत् कम्पनीहरूले एक सय रुपियाँ प्रतिकित्तामा निष्काशन गरेका हुन् । सेयरमा पनि सीमित व्यक्तिहरूको चलखेल छ । उनीहरूले मूल्य बढाउने र घटाउने गर्छन् । अनि फस्छन् चाँहि सोझासाझा जनता । ३२ सय पु¥याइएको सेयर अहिले २४ सयमा झरिसक्यो । अब एक हजारमा झार्ने बजारमा चर्चा छ ।
अहिले बल्ल आएर मानिसहरूले बुझेका छन् कि घरजग्गा, गाडी र सेयर विलासित वस्तु हुन् । यसमा लगानी गर्नुहुन्न । तर, डुबेपछि थाहा पाएर के गर्नु । घरजग्गा, गाडी र सेयरमा मन्दी आउनासाथ सहकारी भाग्यो । दलालीहरूको पनि भागाभाग चलेको छ । बैंकसमेत संकटमा परेको अवस्था छ ।
यस्तै, देशभर दर्ता भएकामध्ये ९५ प्रतिशत सहकारी भागे वा डुबे । सञ्चालनमा रहेकाले समेत बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरू दशैं, तिहारमा निक्षेप फिर्ता माग्दै सहकारी पुगे । तर, रित्तो हात फर्किए । उल्टै सहकारी अध्यक्ष, सञ्चालकहरूले बचतकर्तालाई ठग्न खोजे । निक्षेपको साटो घरजग्गा, गाडी र सेयर लैजानु भने ।
तर, मूल्य सुन्दा आश्चार्य चकित । एक लाख आना नपर्ने दुर्गम जिल्लाको जग्गालाई २५ लाखदेखि ५० लाख भन्ने । थोत्रा चार पाङ्ग्रे गाडीको ५० लाख अनि सेयर प्रतिकित्ता तीन हजार भन्ने । फेरि यो नलिएर सिधैं बचत फिर्ता गर्न सक्दैनौं भन्ने । हिजो पैसा हाँसी हाँसी लैजाने, जहिल्यै माग्नुहुन्छ, उत्तिबेलै दिन्छौं भन्ने । अनि अहिले यस्तो गर्न पाइन्छ ? अझै पनि सहकारीहरलाई सर्वसाधारण ठगेर नपुगेको यसबाटै थाहा हुन्छ । हुन त सहकारीलाई जनता ठग्न सरकारले नै लाइसेन्स दिएको हो ।
टोलटोलमा सहकारी, घरघरमा धान भकारी भन्दै सहकारीमा पैसा राख्न लगाइयो । अहिले डुबेपछि सरकारले पनि बचतकर्तासँग मुख फेरेको छ । न निक्षेप फिर्ता दिलाउन पहल गर्छ न ठग सहकारी अध्यक्ष, सञ्चालकलाई कारबाही गर्छ । यतिसम्म कि पीडित बचतकर्ताले सहकारीविरुद्ध उजुरीसमेत दिन पाएका छैनन् ।
कानुनअनुसार सहकारीको दश प्रतिशत सदस्यले उजुरी दिएमा मात्र सम्बन्धित निकायले उजुरी लिन्छ । अनि बचतकर्ताहरूले एकअर्कालाई चिन्दैनन् । अनि कसरी एकसाथ उजुरी दिने । प्रमाण पेस गरेपछि त उजुरी दिन पाउनुपर्ने हो नि । यहाँ त सरकारले नै बचतकर्तालाई पीडा दिने काम गरिरहेको छ ।
सरकार भन्छ–कसैले ठगेमा उजुरी दिनू । कानुन चाहिँ ठगहरूको हितमा बनाउने अनि पीडितले कसरी उजुरी दिने ? आखिर जुनसुकै सरकार आए तापनि न बचतकर्ताको पैसा फिर्ता आउने देखिन्छ न सहकारी ठगहरूमाथि कारबाही ।
–रुषा थापा
भक्तपुर











प्रतिक्रिया