गुप्टिलले विराटनगर किंग्सबाटै खेल्ने


काठमाडौं।

न्युजिल्यान्डका सफल ब्याटरमध्ये एक मार्टिन गुप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किंग्सबाटै खेल्ने भएका छन् । विराटनगरले विज्ञप्ति जारी गर्दै गुप्टिललाई निरन्तरता दिएको जनाएको हो । पहिलो संस्करणमा उनले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । आगामी मंसिर १ गतेदेखि शुरु हुने एनपीएलको दोस्रो संस्करणमा उनले कस्तो खेल्नेछन् त्यो हेर्न बाँकी छ ।

३९ वर्षीय गुप्टिल न्युजिल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याटरसमेत हुन् । उनले १ सय २२ खेल खेल्दा ३ हजार ५३१ रन बनाएका हुन् । उनले समग्रमा टी–२० फरम्याटमा ३ सय ५१ खेल खेल्दा ९ हजार ९०० रन बनाएका छन् ।

गुप्टिलले इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट खेलेका थिए । यस्तै अस्टे«लियाको बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायत अन्य फ्रेन्चाइज लिगमा उनले खेलेका छन् ।