बाल्यकालमा बाटो बाटोमा गाउँदै हिँडेदेखि लोकप्रिय बाल गायक हुँदै किशोर गायकसम्म बन्न सफल अशोक दर्जीको जीवनसँग मिल्दोजुल्दो उनैले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म मनबिनाको धनको ट्रेलर सार्वजनिक गरिएको छ।

आगामी २१ गते रिलिजमा आउने फिल्मको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेरक ट्रेलर सार्वजनिक गरिएको हो। गायक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको फिल्ममा उनको जीवनीलाई फिल्मी ढंगले प्रस्तुत गरिएको ट्रेलर प्रष्ट्याएको छ। वर्तमान समाज मन अनि धन बीचको टकराव र अशोक दर्जी कसरी जिरो देखिको हिरोको यात्रामा अगाडि बढे भन्ने बिषयलाई भावनात्मक र सूक्ष्म ढङ्गले फिल्ममा प्रस्तुत गरिएको ट्रेलरले संकेत गरेको छ।
बाल्यकालमा बाटोमा गीत गाउँदै माग्दै हिँडिरहेका अशोक दर्जीलाई गायक तथा संगीतकार टंक बुढाथोकीले संरक्षण दिएर उनको लालनपालनसँगै शिक्षा दिँदै करियर बनाउन सघाएका थिए। त्यस क्रममा उनले आप्mनो संगीतमा दर्जीसँगै मनबिनाको धन ठूलो कि धनबिनाको मन गीत ल्याएका थिए। सो गीतमार्फत अशोकले सांगीतिक करियरमा लोभलाग्दो सफलताको कथा रचेका थिए भने उनको जीवन नै परिवर्तन भएको थियो।
फिल्मको नामकरण सोही गीतको बोलबाट गरिएको हो।हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत अशोकको जीवनको पेरिफेरिमा रहेर निर्माण गरिएको फिल्ममा उनको संघर्ष, करियर र सफलताको कथा बुनिएको छ। सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको फिल्म टंक बुढाथोकीको निर्माण, संगीत र डेब्यु निर्देशनमा बनेको हो। फिल्ममा कथा बुढाथोकीकै छ भने पटकथा र संवाद शिवम् अधिकारी, संगीत टंक बुढाथोकी, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, छायाँकन सौरभ लामा र सम्पादन मित्रदेव गुरुङको रहेको छ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा विष्णुमाया मैनालीद्वारा निर्मित फिल्ममा सपना शर्मा कार्यकारी निर्माता, जीपी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्माता तथा टिकाराम बुढाथोकी क्रियटिभ डाइरेक्टर रहेका छन्। फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया