काठमाडौं।
नेपालले यूएईमा जारी क्रिकेट वल्र्ड कप लिग टू अन्तर्गत् त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा पनि हार बेहोरेको छ । शनिबार दुबईको मैदानमा भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । योसँगैं सिरिजमा नेपालले अमेरिकासँगको दुई खेलमै हारेको छ । यसअघि नेपाल १ सय ६ रनले पराजित भएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदैं २ सय ७१ रन बनाएको थियो । अघिल्लो खेलमा यूएईविरुद्धको खेलमा २ सय ३३ रन बनाएर हारेपछि कप्तान रोहित पौडेलले ४०÷५० रन कम भएको बताएका थिए । यसअनुसार नेपाली ब्याटरहरूले अमेरिकाविरुद्ध ब्याटिङमा सुधार गर्दै २ सय ७१ रन प्रहार गर्न पनि सफल भयो ।
तर, कप्तान रोहितले भने जस्तो यति रन बनाउँदा पनि जित हासिल गर्न सकेन । २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल बाँकी राखी ६ विकेट गुमाएर पार गरेको थियो । कोही पनि नेपाली बलरले अमेरिकाको ब्याटिङलाई रोक्न सकेनन् ।
दुई ओभर महँगो हुँदा हार
इनिङको ४८ औं र ४९ औं ओभर महँगो बलिङ हुँदा नेपालले हार बेहोर्नु परेको थियो । यी ओभरमा क्रमशः १३ रन र १७ रन खर्चेका थिए । जुन दुई ओभरमा ३० रन बटुलेर अमेरिकाले नेपाललाई जित्न दिएन । ४७ औं ओभरसम्म अमेरिका ५ विकेटको क्षतिमा २ सय ४३ रनमा थियो । टोलीको लागि जित हासिल गर्न १८ बलमा २९ रनको आवश्यक थियो ।
४८ औं ओभरमा सन्दीपको बलिङ थियो । अमेरिकाका ब्याटर शुभम् रन्जनले पहिलो चार बलमै एक छक्का र एक चौकासहित १३ रन बटुले । तर, उनी पाँचौं बलमा आसिफद्वारा स्टम्पिङ आउट भएका थिए । आउट भएपनि त्यतिबेलासम्म उनले टोलीलाई दबावबाट मुक्त गरिसकेका थिए ।
रन्जनेको आक्रमक ब्याटिङपछि अमेरिकाले १२ बलमा १६ रन बनाउनु पर्ने समीकरण बनेको थियो । दबावमुक्त भएको हुँदा नन्दन यादवको बलिङमा उनीहरू खुलेर खेल्न पाए । जसले गर्दा नन्दनले २ वाइड पनि फ्याले । उनको बलिङमा बलर हर्मीत सिंहले दुई छक्का पनि प्रहार गरेर नेपाललाई हार दिलाएका थिए ।
त्यसअघि नेपाली बलरहरूले मध्यक्रमका दुई ब्याटर मिलिन्द कुमार र साइतेजा रेड्डीलाई आउट गर्न निकै ढिलो गरेका थिए । पहिलो तीन विकेट ९५ रनमा लिएका नेपाली बलरहरूले यी दुईको साझेदारी छिटै तोड्न सकेनन् ।
उनीहरूले चौथो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै जितको आधार तयार पार्दै गए । यो साझेदारी सन्दीपले तोडेका थिए । उनले मिलिन्दलाई ७० रनमा आउट गरेर नेपाली टोलीमा आस जगाएका थिए । यसपछि करण केसीले साइतेजाको विकेट लिए ।
साइतेजाले ७५ रन बनाएका थिए । उनी आउट हुँदा अमेरिकाको स्कोर २ सय ३४ थियो । यहाँबाट पनि नेपालको लागि जित हासिल गर्ने अवसर थियो, तर, ती दुई ओभरले खेलको नतिजा नै अमेरिकातिर ढल्काइदियो ।
नेपालको ब्याटिङ
ब्याटिङमा ओपनर कुशल भुर्तेलले लय समाते । उनले ४७ रन बनाए । अघिल्लो खेलमा शतक प्रहार गरेका कप्तान रोहित पौडेलले ३६ रन जोडेका थिए । यस्तै, भिम सार्कीको ब्याटबाट पनि ४३ रन आएको थियो ।
केही खेलमा सुस्त देखिएका दीपेन्द्रसिंह ऐरीले भने विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर २ सय ३२ रनसम्म पु¥याए । उनले ३ छक्का र २ चौकाको सहयोगमा सर्वाधिक ७५ रनको योगदान दिए । उनी आउट भएपछि बलर करण केसीले नेपालको स्कोर अगाडि बढाए ।
४९ औं ओभरमा आउट हुन्जेलसम्म करणले नेपालको स्कोर २ सय ६७ रनसम्म पु¥याइ दिएका थिए । ३१ बलको सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरेका उनी १ रनले अर्धशतकबाट चुके । तर, ब्याटिङमा शेख दाजुभाइ आसिफ र आरिफ भने टिकेनन् । उनीहरूले समान २ रन मात्रै बनाए ।
नेपाल सातौं स्थानमै
वल्र्ड कप लिग टू को अंकतालिकामा नेपाल सातौं स्थानमै यथावत रहेको छ । नेपालले १९ खेल खेल्दा १२ अंक जोडेको छ । नेपालभन्दा मुनि यस त्रिकोणात्मक सिरिजको आयोजक राष्ट्र यूएई रहेको छ । अमेरिका भने २३ खेलबाट ३४ अंक जोड्दा शीर्ष स्थान अझ बलियो बनाउँदैछ । सिरिजमा अब नेपालले अन्तिम खेल यूएईसँग खेल्नेछ । यसअघिको खेलमा नेपाल यूएईसँग पराजित भइसकेको छ ।











प्रतिक्रिया