श्रीरामजानकी विवाह पञ्चमी महोत्सवको कार्यक्रम तालिका सार्वजनिक

1.13k
Shares

जनकपुरधाम ।

त्रेतायुगमा भगवान श्री रामजानकीबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।


प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी विवाह महोत्सव यसवर्ष मंसिर ९ गते मनाइने भएको छ । यस वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका सप्ताहव्यापी कार्यक्रम तालिका महोत्सव आयोजक श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले सार्वजनिक गरेका हुन् ।

उहाँका अनुसार मंसिर ४ गत्ते नगरदर्शन, मंसिर ५ गत्ते फूलबारी लिला, मंसिर ६ गत्ते धनुष यज्ञ, मंसिर ७ गत्ते तिलकोत्सव, मंसिर ८ गत्ते मटकोर, मंसिर ९ गत्ते स्वयंवर तथा विवाहमहोत्सव र मंसिर १० गत्ते रामकलेवा मनाइने भएको छ ।
महन्थ रामतपेश्वर दास वैष्णवले सार्वजनिक गरेको वैवाहिक कार्यक्रम तालिका अनुसार मंसिर ४ गते नगर दर्शन गराइने छ भने ५ गते फूलबारी लीला र मंसिर ६ गते धनुष यज्ञ आयोजना गरिनेछ ।

उहाँका अनुसार मंसिर ७ गते राम मन्दिरमा तिलकोत्सव महोत्सवको आयोजना गरिनेछ भने मंसिर ८ गते मटकोर र मंसिर ९ गते स्वयंवर तथा विवाह पञ्चमी महोत्सव आयोजना हुनेछ । यस्तै अन्तिम दिन मंसिर १० गते राम कलेवा अर्थात् भगवान श्रीरामको नगर अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तहरुलाई प्रसाद र कोसेलीसहित बिदाइ गरिने कार्यक्रम तय गरिएको छ ।

साथै विवाह पञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न सुरक्षा व्यवस्थासहित विभिन्न कार्य योजनाबद्ध रुपमा सुरु भइसकेको उहाँले बताउनु भयो ।

वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधि विधानमा सहभागी हुन लाखौंको संख्यामा जनकपुरधाममा आउने श्रद्धालु भक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा पनि तयारी भइरहेको उहाँले जानकारी दिनु भयो ।

महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्य योजनाका आधारमा सादा पोसाकसहितका सुरक्षाकर्मी प्रत्येक वर्ष झै यसवर्ष पनि परिचालन गरिने महोत्सव कार्यतालिका सार्वजनिक कार्यक्रममा सहभागी सुरक्षाकर्मी पदाधिकारीले प्रतिबद्धता जनाउनु भयो ।
वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधि विधानमा सहभागी हुन लाखौँको सङ्ख्यामा जनकपुरधाममा आउने श्रद्धालु भक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी कार्यक्रम तालिका सार्वजनिक भए लगतै शुरु गरिएको छ ।

त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंवरका लागि प्रतिस्पर्धामा राखेको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा पुत्र रामले तीन टुक्रा पारेका थिए । त्यसपछि उनीहरूको विवाह भएको थियो । त्यही सम्झनामा जनकपुरधामको जानकी मन्दिरमा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सवको आयोजना गरिदै आएकोे महन्थ रामतपेश्वर दास वैष्णवले बताउनु भयो ।

जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवर र वैवाहिक कार्यक्रममा ३३ कोटि देवीदेवताको उपस्थिति रहेको थियो । सीतालाई छोरी वा बहिनीका रूपमा मान्ने नेपाल तथा भारतका मिथिलाञ्चलवासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।