जनकपुरधाम ।
मधेश प्रदेशका प्रत्येक जिल्लाबाट एक÷एक जना गरी आठजना उत्कृष्ट किसानलाई प्रदेश सरकारले नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको छ ।
मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले विश्व खाद्य दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरी ती किसानहरूलाई सम्मान गरेको हो ।
‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारा सहित आयोजित सो कार्यक्रममा खेती तथा उब्जनीमा गरेको योगदानका आधारमा प्रत्येक जिल्लाका किसानहरुबाट उत्कृष्ट किसान छनौट गरी तिनीहरुलाई सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले जानकारी दिनु भएको छ ।
सम्मानित किसानहरूमा धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महत्तो, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर, सर्लाहीको वागमती नगरपालिका–११ का मौरी किसान मणि प्रसाद पाण्डे, रौतहटका कटहरिया नगरपालिका–५ का धान किसान रामसिंह राय यादव, बाराको जितपुरसिमरा–१८ का मकै किसान विनिता गौतम, पर्साको विन्दवासिनी–४ का च्याउ किसान सुजित कुमार चौरसिया, सिरहा नगरपालिका–२ का खाद्यान्न बीउ उत्पादक किसान बलराम यादव र सप्तरी अग्नीसाइर कृष्णासवरण–२ का किसान महाविर प्रसाद चौधरी रहेका छन् ।
ती किसानहरूलाई सचिव डा. दाहालले नगद २५ हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । किसानहरुलाई सम्मान गर्दै उहाँले मधेश प्रदेशलाई मात्र अन्नको भण्डार नभएर खाध्यान्नको प्रमुख केन्द्रको रूपमा विकास गर्नुपर्नेमा यी किसानहरुको प्रमुख भूमिका हुने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘मधेशको खेतीको उब्जनी वृद्धि आजको आवश्यकता हो । यदि हामीले स्थानीय उत्पादनलाई बढाएर मात्रै देशभरका नागरिकलाई पर्याप्त खाध्यान्न उपलब्ध गराउन सक्यौं भने समृद्धि दिगो हुन सक्छ र यसका लागि सरकार तथा किसान मिलेर काम अघि बढन आवश्यक छ ।’
निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख डा. सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाका प्रमुख रविलला शर्मा लगायतका वक्ताहरुले खाद्य सुरक्षा र उत्पादन प्रवद्र्धनसम्बन्धी आ आफ्ना धारणा राख्नु भएको थियो ।











प्रतिक्रिया