पेस्तोलसहित पाँच जना पक्राउ, जेन्जी आन्दोलनकै क्रममा लुटिएको हतियार बिक्रीमा


काठमाडौं ।

जेन्जी आन्दोलनको क्रममा प्रहरीको हातहतियार लुटपाट गरी बिक्री वितरण गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूको टोलीले गोप्य सूचनाको आधारमा सञ्चालन गरेको अपरेशनमा लुटिएको पेस्तोल, म्याग्जिन र गोलीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिति २०८२ साल असोज २४ गतेको जेन्जी आन्दोलनका क्रममा प्रहरी वृत्त स्वयम्भूबाट CF98-9 मोडेलको पेस्तोल (नं. 000858 08236), एक थान म्याग्जिन र ३११–२४ लेखिएको १५ थान गोली लुटिएको थियो। सो हतियार पछिल्ला दिनमा विभिन्न व्यक्तिहरूमाझ खरिद-बिक्री हुँदै आएको सुराकीका आधारमा प्रहरी सक्रिय भएको थियो।

यसै क्रममा मिति कार्तिक १४ गते दिउँसो १२:२० बजे काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीस्थित प्रभात मल्लको कपडा पसलमा प्रहरीले छापा मारेको थियो। पसलको चेन्जिङ रुमभित्र कपडाले बेरेर लुकाइराखिएको उक्त पेस्तोल र गोली फेला परेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू:

१. कृष्ण गुरुङ (२१ वर्ष) — धादिङ धुनिवेशी गाउँपालिका घर भई हाल काठमाडौँ–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने। सोही कार्यालयबाट पेस्तोल लुटेको आरोप।

२. राजन देउला (२५ वर्ष) — काठमाडौँ–१५ भगवानपाउ जर्मन क्वाटर बस्ने। कृष्ण गुरुङबाट पेस्तोल लिएको।

३. अकबर खान (२४ वर्ष) — भारत मोतिहारी सितामणी घर भई हाल काठमाडौँ–१५ ट्राफिक बिट नजिक डेरा गरी बस्ने। राजन देउलाबाट पेस्तोल लिएको।

४. सुमिन शाक्य (२६ वर्ष) — काठमाडौँ–१५ बिजेश्वरी बस्ने। अकबर खानबाट रु. ६५ हजारमा पेस्तोल खरिद गरेको।

५. प्रभात मल्ल (३८ वर्ष) — नयाँबानेश्वर घर भई हाल काठमाडौँ–१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्दै आएका। सुमिन शाक्यबाट रु. १ लाखमा पेस्तोल खरिद गरी पसलमा लुकाएको।

प्रहरीले सबै पाँच जनालाई नियन्त्रणमा लिएर हतियारसम्बन्धी मुद्दामा अनुसन्धान थालेको जनाएको छ। वृत्त स्वयम्भूका एक अधिकारीका अनुसार, “लुटिएको सरकारी पेस्तोल निजी हातमा पुगेको पुष्टि भएको छ। अब यसका स्रोत र वितरण सञ्जालबारे थप अनुसन्धान भइरहेको छ।”

प्रहरीले यस घटनालाई जेन्जी आन्दोलनका क्रममा भएको सुरक्षाघातसँग सम्बन्धित गम्भीर आपराधिक कार्य मानेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, पेस्तोललाई क्रमिक रूपमा पाँच चरणमा हात बदल्दै अन्ततः प्रभात मल्लले खरिद गरी लुकाएका थिए।

प्रहरी स्रोतका अनुसार, पेस्तोल फेला परेपछि लुटपाटमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी पनि तीव्र पारिएको छ।