सुनसरी।
लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन् ।
आज बिहान ८ः०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड ७८ हजार २३० क्युसेक पानीको प्रवाह हुँदा १३ ढोका खोलिएको थियो । दिउँसो १२ बजे मापन गर्दा प्रवाह प्रतिसेकेन्ड ९२ हजार १३० क्युसेक, अपराह्न ४ः०० बजे १ लाख २८ हजार ११५ क्युसेक र बेलुका ८ः०० बजे १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए । त्यसपछि केही समयसम्म प्रवाह घटेको भए पनि बिहीबार देखिको अविरल वर्षाका कारण आज साँझदेखि सप्तकोशीमा पुनः पानीको मात्रा बढ्न थालेको खतिवडाले बताए ।
लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।











प्रतिक्रिया