तीन महिनामै सरकारको ऋण ५० अर्ब ६० करोडले बढ्यो


काठमाडौँ ।

चालु आर्थिक वर्ष २०८२|८३ को पहिलो तीन महिनामा सरकारले रु ५० अर्ब ६० करोड बराबर नयाँ ऋण थप गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असार मसान्तसम्म रु २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर रु २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो।

हाल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत बराबर पुगेको छ। कूल ऋणमध्ये ५३.०९ प्रतिशत (रु १४ खर्ब ४६ अर्ब ५८ करोड) वैदेशिक र ४६.९१ प्रतिशत (रु १२ खर्ब ७८ अर्ब ७ करोड) आन्तरिक ऋण रहेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रु ५ खर्ब ९५ अर्ब ऋण संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो त्रैमासमा करिब १६.९३ प्रतिशत अर्थात् रु एक खर्ब ८४ करोड ऋण उठाइसकेको छ। आन्तरिक ऋण संकलन लक्ष्यको २४.८६ प्रतिशत र वैदेशिक ऋणको मात्र ४.६५ प्रतिशत पूरा भएको कार्यालयले जनाएको छ।

यस वर्ष सरकारले ऋणको साँवा र ब्याज तिर्नका लागि रु ४ खर्ब ११ अर्ब १ करोड छुट्याएको छ, जसमा असोज मसान्तसम्म रु एक खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भइसकेको छ। यो कुल बजेटको २६.७४ प्रतिशत हो।