२८३ मेगावाट विद्युत् निर्यात नवीकरण


काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत्् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत्् निर्यात भइरहेको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।

यसैगरी, द्विपक्षीय सम्झौताबमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको थियो । हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिएको छ । प्राधिकरणले हरेक वर्ष जुन—अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आइएक्समा पनि बिक्री अनुमति मागेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत्् शुक्रबारबाट आइएक्समा समेत निरन्तर रूपमा बिक्री गर्न पाउने भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत्् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गर्नुभएको थियो ।