ट्रम्प–सीको भेटपछि विश्व राजनीति तरङ्गित


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित बनेको छ । ट्रम्पले अन्य मुलुकले आणविक हतियारको निरन्तर परीक्षण गरिरहेको भन्दै त्यसैको बराबरी गर्न अमेरिकाले पनि आणविक परीक्षण सुरु गर्ने बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि ट्रम्पले एयर फोर्स वान (राष्ट्रपतिको विशेष विमान) मा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो– ‘उनीहरू सबैले परीक्षण गरिरहेका छन् । हामीले मात्र किन नगर्ने ? अब हामी पनि आणविक परीक्षण गर्ने तयारीमा छौं ।’

ट्रम्पका अनुसार अमेरिका अझै पनि विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति हो । उहाँले अमेरिकासँग अन्य सबै देशभन्दा बढी आणविक हतियार रहेको दाबी गर्दै रूसलाई दोस्रो र चीनलाई तेस्रो नम्बरमा राख्नुभएको छ । तर चीनले पाँच वर्षभित्र अमेरिकासँग बराबरी गर्ने संकेत देखिएको छ ।

ट्रम्पको घोषणापछि रूस, चीन र युरोपेली देशहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । रूसको विदेश मन्त्रालयले यो निर्णयलाई ‘वैश्विक सुरक्षा सन्तुलनमा ठूलो धक्का’ भनेको छ । चीनले भने अमेरिकी कदमले नवीन आणविक दौड सुरु हुने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले समेत अमेरिकालाई संयमता अपनाउन आग्रह गर्दै आणविक परीक्षणको हरेक कदमले दशकौंको कूटनीतिक प्रयासलाई खतरामा पार्ने टिप्पणी गरेको छ । अमेरिकाले सन् १९९२ पछि औपचारिक आणविक परीक्षण गरेको छैन । तर ट्रम्प प्रशासनले अघिल्ला वर्षदेखि रक्षा बजेटमा आणविक आधुनिकीकरणका लागि ठूलो रकम छुट्याउँदै आएको छ । अमेरिकाले यसअघि नै नयाँ प्रकारका मिनी–न्युक्स र हाइपरसोनिक हतियार विकासमा काम गरिरहेको बताएको थियो ।