सरकार बल प्रयोग गर्ने पक्षमा, स्थानीय प्रतिकार गर्ने तयारीमा

11.75k
Shares

–धुनीबेसी नगरपालिका र ककनी गाउँपालिका प्रमुख जनतासँगै सडकमा
–स्थानीयको चेतावनी : फोहोर सधैंका लागि बन्द गर्छौं, गन्ध खाएर बस्दैनौं

काठमाडौँ ।

दुई दिनबाट फोहोर बञ्चरेडाँडामा खसाल्न नसकेपछि सरकार सुरक्षा बल प्रयोग गर्ने तयारीमा छ । सकभर वार्ता गर्ने नभए बल प्रयोग गरेर भए पनि फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गर्नेगरी तयारी थालिएको छ ।

बुधबार फोहोर बोकेको गाडी सिसडोल पुगेपछि स्थानीयले अवरोध गर्दै सदाको लागि फोहोर फाल्न नदिने चेतावनी दिएका थिए । करिब ५० वटा फोहोरको गाडीलाई बाटैमा रोकेपछि प्रहरीले ती गाडीलाई सुरक्षा दिइरहेको छ । धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीयले सरकारले सहमति पूरा गर्न बेवास्ता गरेपछि फोहोर बन्द गरेको जनाएका छन् ।

धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले सरकारले बल प्रयोग गरेर ल्यान्डफिल साइटमा फोहोर खसाल्न खोजेको उल्लेख गर्दै भन्नुभयो– ‘यहाँ प्रहरीको संख्या बढाएर बल प्रयोग गरेर फोहोर खसाल्न खोज्दैछांै, हामी त्यसको विरोध गरिरहेका छौं ।’
बाटोमा धर्ना दिएका स्थानीयले जबरजस्ती फोहोर विर्सजन गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् । स्रोतका अनुसार गृहमन्त्रालयले वार्ताबाट समस्या समाधान गर्न चाहेको छ । जेन–जी आन्दोलनले यतिधेरै क्षति गरेको छ, फेरि बल प्रयोग गर्दा अर्को क्षति हुन सक्ने आंकलन गर्दै तत्काल वार्ताबाट समस्या समाधान गर्न खोजिएको बताइएको छ ।

सरकारले फोहोर ढुवानी गर्न नुवाकोट र काठमाडौंबाट थप प्रहरी परिचालन गरेको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले सुरक्षाको व्यवस्थापन गर्ने विषयमा नुवाकोटको जिल्ला प्रहरी कार्यालयसँग कुराकानी भइरहेको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वार्ताबाट समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘त्यसैको लागि हिजोदेखि सहरी विकास मन्त्रीको सचिवालयबाट वार्ता प्रयास भइरहेको छ ।’ तर धुनीबेसी नगरपालिका प्रमुख आचार्यले सरकारले वार्ताको लागि हालसम्म कुनै पहल नभएको दाबी गर्दै भन्नुभयो–‘तपाईं मिडियाका साथीहरू काठमाडौंमा हुनुहन्छ, सरकारले भ्रम छर्न वार्ताको लागि बोलाएको छ भन्दै समाचार लेख्न आग्रह गर्छन् अनि लेख्नुहुन्छ ।

समाचार लेख्दा वार्तामा बोलाएर पत्र दिनुभएको छ ? भनेर सोध्नुप¥यो नि । त्यो सबै हावादारी कुरा हो, हामी फिल्डमै बसिरहेका छांै, खबर आएको छैन । खबर त आन्दोलनमा उत्रिएका स्थानीयलाई गर्नुप¥यो नि । हचुवाको भरमा खबर गरेको थियौं, आएनन् भन्न पाइन्छ ?’

उहाँले स्थानीयको माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने, सडक र ल्यान्डफिल साइटमै बसेर आन्दोलन जारीे राख्ने चेतावनी पनि दिनुभयो । स्थानीयले करिब दुई साताअघि सहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष मागपत्र पेस गर्दै उक्त माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । अल्टिमेटम दिएको समय सकिएपछि स्थानीय आन्दोलनमा उत्रिएको धुनीबेसी नगरपालिका प्रमुख आचार्यको भनाइ थियो ।

पुरानै सम्झौताअनुसार माग पूरा नभएपछि अति प्रभावित स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । पटकपटक भएका सम्झौता कार्यान्वयन नभएसम्म फोहोरमैला विसर्जन गर्न नदिने अडान स्थानीयको छ । स्थानीय ककनी गाउँपालिका–१ का अध्यक्ष पदमबहादुर बलामीले स्थानीयले सदाको लागि फोहोर विसर्जन बन्द गरेको जानकारी दिँदै भन्नुभयो– ‘सबै स्थानीयले सडकमा धर्ना दिएर फोहोर ढुवानी बन्द गरेको हो । अब सरकारले माग पूरा गर्नेभन्दा पनि विगतमा धोका दिएको विषय मुख्य हो । अब हामीले फोहोर ल्याउन सदाका लागि बन्द गरेका छौं ।’ हालसम्म सरकारले वार्ताको लागि नबोलाएको उहाँको भनाइ थियो ।

फोहोर ढुवानी ठप्प भएपछि बुधबार कामपाले गृह, सहरी विकास र काठमाडौं सीडीयो कार्यालयलाई जानकारी दिएको थियो । बिहीबार बिहान पनि सरोकार निकायमा जानकारी गराइसकेका कामपा वातावरण विभाग प्रमुख राईको भनाइ थियो । कामपाका मेयर बालेन्द्र साहले दुई वर्षअघि स्थानीय पीडित संघर्ष समितिसँग भएको १८ बुँदे प्रतिबद्धतामध्ये कुनै पनि माग कार्यान्वयन नभएको कारण आन्दोलनमा उत्रिएका हुन् ।

यो विषय कामपाका मेयर साहको भन्दा पनि सरकारसँग जोडिएको माग भएको कामपाको भनाइ छ । सरकारले चाहेमा तत्काल समस्या समाधान हुन सक्ने तर कामपाले कुनै पनि निर्णय गर्न नसक्ने भन्दै कामपा पन्छिएको छ ।तथ्याङ्कअनुसार बञ्चरेडाँडा ल्यान्डफिल साइटमा दैनिक १ हजार ४ सय टन फोहोर बिर्सन हुने गरेको छ ।

त्यसमध्ये कामपाबाट दैनिक ७ सय र ललितपुर महानगरपालिकाबाट दैनिक करिब १ सय ५० टन फोहोर व्यवस्थापन हुने गरेको छ ।त्यसबाहेक अन्य १६ स्थानीय निकायबाट करिब ५ सय ५० टन फोहोर बञ्चरे ल्यान्डफिल साइटमा लैजाने गरेको छ । फोहोर विसर्जनमा रोक लगाउिने निर्णय भएपछि कामपालगायत सबै स्थानीय निकायलाई गम्भीर समस्या पर्ने देखिएको छ ।