काठमाडौँ।
कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी १५ दिने आधारभूत तालिम आजदेखि सुरु भएको छ। नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) र नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाको संयुक्त आयोजनामा तालिमको सुरुवात भएको एनपीआईका तालिम संयोजक कपिल काफ्लेले जानकारी दिए।
तालिमको उद्घाटन कार्यक्रममा प्रशिक्षक लीलाराज भट्टराईले वर्तमान समयमा एआइको महत्व उल्लेख गर्दै, यस तालिमबाट सहभागीहरूले ठूलो लाभ पाउने विश्वास व्यक्त गरे।
भर्चुअल माध्यमबाट सञ्चालन गरिएको तालिममा देशभरका ४३ भन्दा बढी पत्रकारको सहभागिता रहेको छ। प्रशिक्षक भट्टराईका अनुसार तालिममा एआइको प्रयोग, अनुवाद, समाचार सम्पादन, भ्वाइस टु टेक्स्ट, टेक्स्ट टु फोटो लगायतका विषयमा केन्द्रित प्रशिक्षण प्रदान गरिनेछ। उनले तालिममा व्यावहारिक पक्षलाई प्राथमिकता दिइए पनि सैद्धान्तिक ज्ञान पनि समेटिने बताए।
कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्युट बीराटनगरका तालिम संयोजक वीरेन्द्र शर्माले स्वागत मन्तव्य दिएका थिए। सोही अवसरमा नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले तालिमको महत्व र आवश्यकता माथि प्रकाश पारिन्।
त्यसैगरी प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार दीपक रिजाल, सचिव सूर्य अर्याल लगायतले तालिमप्रतिको अपेक्षा र सम्भावनाबारे आफ्ना धारणा राखेका थिए। सहभागीहरूले विभिन्न जिज्ञासा पनि व्यक्त गरेका थिए।
१५ दिने यो तालिम हरेक दिन बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुनेछ।
वि.सं. २०४१ सालमा स्थापना भएको नेपाल प्रेस इन्स्टिच्युट नेपालकै पुरानो र अग्रणी पत्रकारिता तालिम केन्द्र हो। यस इन्स्टिच्युटले दशमहिने पत्रकारिता तालिमका साथै छोटो अवधिका विभिन्न प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।











प्रतिक्रिया