क्रिकेट वर्ल्ड कप लिग टु : रोहितको शतक बाबजुद नेपाल यूएईसँग पराजित


काठमाडौं। 

यूएईमा जारी आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल रोहित पौडेलको शतकीय इनिङबावजुद घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ५ विकेटले हारेको हो । यसअघि यसै सिरिजअन्तर्गको पहिलो खेलमा अमेरिकासँग नेपाल १ सय ६ रनले हारेको थियो । 

यो हारपछि नेपालले १२ अंकमा थप अंक जोड्न सकेन । नेपालले १८ खेल खेलिसक्यो भने यो नेपालको प्रतियोगिताअन्तर्गत पाँचौं सिरिज हो । यूएईको भने यो चौथो जित हो । योसँगैं टोलीले १८ खेलमा ८ अंक बनाएको छ र अझै आठ टोली सम्मिलित यस प्रतियोगिताको पुछारमै रहेको छ । अब, नेपालले यस सिरिजअन्तर्गत तेस्रो खेल अमेरिकासँग शनिवार खेल्नेछ ।  

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रनको मध्यम योगफल बनायो । जसमा, कप्तान रोहित पौडेलको शतक मात्रै सम्झनलायक बनेको थियो । अन्य ब्याटरहरूले भने निरास नै गरे । जसमा, कुशल भुर्तेल (७), भीम सार्की (३), दीपेन्द्रसिंह ऐरी (२३) र आसिफ शेख (३५) र आरिफ शेख (२७) थिए । 

जवाफमा यूएईले आरामका साथ २ सय ३४ रनको लक्ष्य पार ग¥यो । टोलीले ५ विकेटको क्षतिमा २ सय ३७ रन बनाएर जित हासिल गर्दा अझै ३९ बल खेल्न नै बाँकी थियो । टोलीलाई जित दिलाउन ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । ९८ बल नै सामना गरेका उनी २ रनले शतकबाट चुकेका थिए । उनको क्याच सन्दीप लामिछानेले आफ्नै बलिङमा लिएका थिए । 

नेपालको हारको मुख्य कारण नै आर्यन्शको उत्कृष्ट ब्याटिङ थियो । अरु खेलाडी नटिकेको अवस्थामा एक इन्डमा उनी नै टिकेर नेपाललाई हारतिर अग्रसर बनाएको थियो । उनलाई नेपाली बलरले आउट गर्न निकै ढिलो गरेका थिए । उनी आउट हुँदासम्म नेपाल हार नजिक पुगिसकेको थियो । नेपालको तर्फबाट सन्दीपले सर्वाधिक २ विकेट लिएका थिए । 

रोहित दुई शतक बनाउने पहिलो खेलाडी

रोहितले यू्एईको बलरसँग जोगिएर सामना गर्दै शतक प्रहार गरेका छन् । उनले १ सय ९ रन बनाएका हुन् । उनले १ सय ३० बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए । उनी ४८ औं ओभरमा जाहिद अलीको बलमा आउट भएका थिए । 

यो रोहितको एकदिवसीय क्रिकेटमा दोस्रो शतकसमेत हो । उनले ३ वर्ष ७ महिनापछि शतक प्रहार गरे । यसअघि उनले सन् २०२२ को मार्चमा नेपालमै आयोजना भएको खेलमा पपुवान्युगिनीविरूद्ध शतक प्रहार गरेका थिए । यो उनको पहिलो शतक थियो र त्यसमा १ सय २६ रन बनाएका थिए । 

यस्तै, रोहित दुई शतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेटरसमेत बनेका छन् । एकदिवसीयमा अहिलेसम्म नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले एक–एक शतक प्रहार गरेका छन् । यसमा पारसबाहेक अन्य खेलाडी सक्रिय छन् ।