काठमाडौँ।
गत भदौ २४ गते Gen-Z समूहले घोषणा गरेको आन्दोलनको नाममा काठमाडौंका विभिन्न स्थानमा भएका तोडफोड तथा आगजनी घटनामा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बलम्बु घटनामा पक्राउ
चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित प्रहरी प्रभाग बलम्बुको भवन र सवारी साधनमा आगजनी गरी क्षति पुर्याउने घटनामा संलग्न रहेको आरोपमा कुमार तामाङ (३७ वर्ष) लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनले BAC 1574 नम्बरको टाटा टेल्कोलाइन गाडी कार्यालयबाट बाहिर लगेर आगो लगाई जलाई पूर्ण रूपमा नष्ट गरेका थिए।
कुमार तामाङलाई प्र.ब.ना.नि. विनोद विक्रम बस्नेतको कमाण्डमा खटिएको टोलीले चन्द्रागिरि–८ मातातिर्थस्थित घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।
कपन घटनामा पक्राउ
त्यसै आन्दोलनको क्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घरमा तोडफोड गर्ने कार्यमा संलग्न प्रशान्त महतारा (२२ वर्ष) लाई पनि प्रहरीले पक्राउ गरेको छ।
कपन प्रभागबाट खटिएको प्रहरी टोलीले उनलाई बुढानिलकण्ठ–१० शिवमन्दिरस्थित उनको घरबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको जनाएको छ।
थानकोट घटनामा नियन्त्रण
जेन–जि आन्दोलनकै क्रममा चन्द्रागिरि–६ थानकोट चेकपोष्टमा रहेको प्रहरी वृत्त थानकोटमा आगजनी र तोडफोड गर्ने कार्यमा संलग्न प्रताप तामाङ (२८ वर्ष) लाई प्रहरीले पक्राउ गरेको छ।
फोटो र भिडियोको आधारमा पहिचान गरिएको प्रतापलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
काण्डाघारी घटनामा दुई किशोर पक्राउ त्यसैगरी, कागेश्वरी मनोहरा–७ स्थित प्रहरी प्रभाग काण्डाघारीमा आगलागी र तोडफोडमा संलग्न रहेको अभियोगमा दुई जना किशोर पक्राउ परेका छन्।
दोलखा कालिन्चोक–९ घर भई हाल फोर्सपार्क बस्ने रन्जित थामी (१८ वर्ष) र ओखलढुंगा टारकेरावारी घर भई हाल लाहुरेचोक बस्ने विश्वास तामाङ (१५ वर्ष) लाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूका मोबाइलमा आन्दोलनका बेला आगलागी र तोडफोडका फोटो तथा भिडियो फेला परेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका सबैविरुद्ध सार्वजनिक सम्पत्ति नष्ट र आगजनीसम्बन्धी अभियोगमा थप अनुसन्धान कार्य अघि बढाइएको छ।











प्रतिक्रिया