सिन्धुली जिल्ला अस्पतालमका नर्सहरू पनि आन्दोलनमा 

752
Shares

सिन्धुली ।

 नेपाल नर्सिङ संघको आव्हानमा सिन्धुली जिल्ला अस्पतालमा कार्यरत नर्सहरू पनि हिजोदेखि आन्दोलनमा उत्रिएका छन् ।

नर्सहरूले अस्पताल परिसरमै नाराबाजी गर्दै धर्ना दिएका छन् । नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधा कार्यान्वयन गर्नुपर्ने, अस्थायी तथा करारमा कार्यरत नर्सहरूको तलब वृद्धि गर्नुपर्ने लगायतका माग राखेका छन् । 

नेपाल नर्सिङ संघले १५ बुँदे मागपत्रसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ध्यानाकर्षण गराएको छ । 

संघका अध्यक्ष प्रा. चन्द्रकला शर्मा र महासचिव डा. देवका कुमारी आचार्यको हस्ताक्षर रहेको उक्त मागपत्रमा, नर्सहरूको सेवा सुरक्षा, कार्य वातावरण सुधार, तलब–सुविधा समानता, जनशक्ति व्यवस्थापन, तालिम अवसर, अवकाश र बीमा सुविधा लगायतका मागहरू समावेश छन् । 

संघको आव्हानमा सिन्धुली अस्पतालमा कार्यरत नर्सहरुले कार्तिक २ गते देखि ११ गते सम्म हातमा कालोपट्टी बाधेर काम गरेको धर्नामा सहभागी स्टाफ नर्स संन्गिना मानन्धरले बताइन् । 

कार्तिक १२ गते देखि भने विहान १० बजे देखि १२ बजे सम्म एमर्जेन्सी बाहेकका अरु नर्सिङ सेवाहरु बन्द गरेर धर्ना दिईएको नर्स मानन्धरले बताइन् । 

सिन्धुली अस्पताल प्रशासन आफ्नो मागहरुमा सकारात्मक भए पनि अहिलेसम्म वार्ता र सहमति नभएको नर्सहरुले बताएका छन् ।