काभ्रे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष अभियानमा हालसम्म जेलबाट फरार भएका ५३ जना कैदीबन्दी पक्राउ परेका छन् । प्रहरीले फरार कैदीबन्दी खोजी तथा नियन्त्रणका लागि निरन्तर सर्च अपरेशन सञ्चालन गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार विभिन्न जिल्लाबाट फरार भई लामो समयदेखि लुकीछिपी बस्दै आएका कैदीबन्दीहरूलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। केही पक्राउ परेकामाथि अदालतको आदेशअनुसार पुनः कारागार चलानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
काभ्रे प्रहरी प्रमुखका अनुसार अझै एक सयभन्दा बढी कैदीबन्दी फरार रहेको र उनीहरूलाई नियन्त्रणमा ल्याउन खोजी तीव्र पारिएको छ। उनका अनुसार प्रहरीले स्थानीय समुदाय, सूचनादाता तथा सीसीटीभी नेटवर्कमार्फत समेत निगरानी बढाएको छ।
प्रहरीले कैदीबन्दी फरार हुने घटनालाई गम्भीर रूपमा लिँदै कारागार सुरक्षा व्यवस्थामा कमजोरी पहिचान गरी सुधारका उपायहरू अघि बढाइने जनाएको छ।
प्रहरी स्रोतका भनाइमा, “काभ्रे र वरपरका जिल्लामा फरार कैदीबन्दी खोज्ने अभियानलाई निरन्तरता दिइरहेका छौं, यसमा जनसहयोग पनि अत्यावश्यक छ।”
यसअघि गत वर्षदेखि फरार खोजी अभियान सञ्चालन गरिएकोमा पछिल्लो दुई महिनामा मात्र करिब दुई दर्जन फरारहरू पक्राउ परेका थिए।











प्रतिक्रिया