पर्यटन क्षेत्रमा वैदेशिक लगानी उच्च


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२|८३ को पहिलो तीन महिनामा कुल ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता दर्ता भएको छ । उद्योग विभागका अनुसार यो अवधिमा ३११ वटा उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता गरिएको छ । असोज महिनामात्रै ७५ उद्योगले २ अर्ब ४ करोड ५७ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेका छन् ।

विभागका अनुसार अटोमेटिक रुटमार्फत १९७ उद्योगले ३३ अर्ब २७ करोड ४८ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, अप्रुभल रुटमार्फत ११४ उद्योगमा १ अर्ब ८६ करोड २९ लाख रुपियाँ बराबरको लगानी दर्ता भएको छ ।
क्षेत्रगत हिसाबले हेर्दा पर्यटन क्षेत्रमा ७१ प्रतिशत, उत्पादन क्षेत्रमा १० प्रतिशत, सेवा क्षेत्रमा ९ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ८ प्रतिशत र कृषि क्षेत्रमा २ प्रतिशत विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको विभागले जनाएको छ । यद्यापि, खनिज, पूर्वाधार र ऊर्जा क्षेत्रमा भने लगानी प्रतिबद्धता शून्यप्रायः रहेको उल्लेख छ । उक्त अवधिमा विभागले ३८ करोड २२ लाख ५४ हजार रुपियाँ बराबरको रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको छ ।

त्यसैगरी, ८ हजार ५२१ अमेरिकी डलर, ५९ लाख १४ हजार ३४४ भारतीय रुपियाँ र १० हजार २ सय युरो बराबरको रोयल्टी फिर्ता स्वीकृत गरिएको विभागले जनाएको छ । उद्योग विभागका अनुसार विदेशी लगानीको ठूलो हिस्सा पर्यटन क्षेत्रमा केन्द्रित हुनु अर्थतन्त्रको विविधीकरण र दिगोपनामा चुनौती बन्न सक्ने देखिएको छ । विदेशी लगानीको बढ्दो प्रवाह अर्थतन्त्रका लागि सकारात्मक सूचक मानिए पनि यसको संरचना भने सन्तुलित छैन ।

पर्यटन अस्थिर क्षेत्र हो, राजनीतिक, वातावरणीय वा महामारीजस्ता झट्काले यसलाई तत्काल प्रभावित पार्छ । उत्पादन र ऊर्जा जस्ता क्षेत्रमा विदेशी लगानी बढाउन सके स्थायित्व र रोजगारी दुवैमा टेवा पुग्ने सरोकारवालाहरूको भनाइ छ ।त्यस्तै अटोमेटिक रुटमार्फत आएको ठूलो लगानीले प्रणाली सुधारतर्फ सकारात्मक संकेत गरे पनि नीति कार्यान्वयन र लगानी सुरक्षाको प्रश्न अझै समाधान हुन बाँकी छ ।