जेरहार्डले फेरि काठमाडौं गोर्खाजबाट खेल्ने


काठमाडौं।

नामिबियाका कप्तान जेरहार्ड इरस्मसले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन पनि काठमाडौं गोर्खाजको टोलीबाट नै खेल्ने भएका छन् ।
काठमाडौं स्पोटर््स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमाडौं गोर्खाज टोलीले इरस्मसलाई आफ्नो दोस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । त्यसअघि, काठमाडौंले दक्षिण अफ्रिकन विकेटकीपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई पनि टिममा समेटेको थियो । इरस्मस, जो सन् २०१९ देखि नामिबियाको राष्ट्रिय क्रिकेट टिमका कप्तान छन्, २०२३ र २०२४ को आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कारका विजेता पनि हुन् । उनले काठमाडौं गोर्खाजसँग पहिलो सिजनमा उपकप्तानको भूमिका निर्वाह गर्दै सात खेलमा १३७ को स्ट्राइक रेटमा ११० रन बनाएका थिए । यसका अतिरिक्त, उनले ११.९० को औसतमा ११ विकेट पनि लिए थिए ।

३० वर्षीय इरस्मसले नामिबियाको प्रतिनिधित्व गर्दै ६३ एकदिवसीय र ७७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्, जसमा एक शतक र १३ अर्धशतक सहित १,८३३ रन बनाएका छन् । पछिल्लो तीन सिजनदेखि उनले युएईको आइएलटी–२० लिगमा गुजरात जायन्ट्सको प्रतिनिधित्व पनि गरेका छन् ।

काठमाडौं गोर्खाजका प्रशिक्षक वसन्त शाहीले इरस्मसको प्रदर्शनमा सुधारको आशा राख्दै भने, “गत सिजन इरस्मसले निकै राम्रो खेलेका थिए र यस वर्ष उनले अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्छु । उनी एक प्रभावशाली लिडर पनि हुन्, जसले हाम्रो टिमलाई सशक्त बनाएको थियो । इरस्मस जस्ता खेलाडीको उपस्थिति हाम्रो टिमको लागि महत्वपूर्ण हुनेछ ।”

काठमाडौं गोर्खाजले यस सिजनमा मार्की करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई पनि टिममा निरन्तरता दिएको छ । त्यसैगरी, मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई पनि टोलीमा समेटिएका छन । एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म आयोजना हुनेछ ।