काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नुअघि नै उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ ।
राज्य सञ्चालित कोरियन सेंट्रल न्युज एजेन्सी (KCNA) का अनुसार उत्तर कोरियाले जमिनबाट हावामा प्रहार गर्न सकिने नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । सो क्षेप्यास्त्र ठाडो रूपमा प्रक्षेपण गरी करिब ७ हजार ८ सय सेकेन्डसम्म हावामा रहेको उल्लेख गरिएको छ ।
बीबीसीका दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार यो परीक्षणलाई उत्तर कोरियाले आफ्नो आणविक क्षमता र हतियार कार्यक्रमलाई वैधानिक बनाउने प्रतीकात्मक कदमका रूपमा लिएको बताइएको छ ।
उता, अमेरिकी राष्ट्रपति ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग (APEC) बैठकमा सहभागी हुन दक्षिण कोरिया पुग्दैछन् । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग उनको आज भेटवार्ता तय भएको छ । दुवै नेताबीचको भेटमा दुई देशबीचको व्यापार सम्झौता र रक्षा सहकार्यबारे छलफल हुने अपेक्षा गरिएको छ ।
तर हालसम्म ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भेटवार्ता हुने कुनै संकेत देखिएको छैन । उत्तर कोरियाको पछिल्लो परीक्षणलाई अमेरिकी राष्ट्रपतिको भ्रमणअघि गरिएको राजनीतिक सन्देशका रूपमा पनि व्याख्या गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, ट्रम्पको भ्रमण र उत्तर कोरियाको गतिविधि बीचको यस्तो समयक्रमले कोरियाली द्वीपकल्पमा पुनः तनाव बढ्ने संकेत दिएको छ ।











प्रतिक्रिया