इलाम ।
नेपाल–भारत सीमास्थित इलामको माईजोगमाई गाउँपालिका–२ अन्तर्गतको रमणीय गाउँ तुम्लिङ यतिबेला देश–विदेशका पर्यटकले भरिएको छ । पर्यटकीय सिजन सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य दुवै पर्यटकको आगमन तीव्र गतिमा बढ्दै गएको हो।
तुम्लिङ पछिल्ला वर्षमा उदीयमान पर्यटन गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। नेपालका विभिन्न जिल्लाका पर्यटकका साथै भारतको पश्चिम बंगाल, विशेष गरी कोलकत्ताबाट आउने पर्यटकहरूको संख्या उल्लेख्य छ । तीमध्ये धेरैजना यहाँबाट सन्दकपुर पदयात्राका लागि प्रस्थान गर्छन्, जुन इलामकै अर्को प्रसिद्ध पर्यटन स्थल हो।
समुद्री सतहदेखि करिब २,९७० मिटर उचाइमा अवस्थित तुम्लिङबाट कञ्चनजंघा, लोत्सेलगायतका हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ। यही कारणले यो स्थान हिमालप्रेमी र ट्रेकिङ रुचाउने पर्यटकहरूको प्रिय गन्तव्य बनेको छ। भारतको कोलकत्ताबाट भ्रमणमा आएका पर्यटक सौरभ बासु शंकर भन्छन्,
“तुम्लिङ नेपालमा भेटिएको सबैभन्दा रमणीय स्थान हो । हिमाल, गाउँको आतिथ्य र प्राकृतिक शान्त वातावरणको अनुभव बिर्सनै सकिँदैन।”तुम्लिङ हुँदै अघि बढ्ने पर्यटकहरू प्रायः टङ्लु, गुराँसे र मेघमा पुग्ने गर्छन्। मेघमा क्षेत्र विश्वकै धेरै बुद्ध मूर्तिहरू रहेको स्थलका रूपमा पनि प्रसिद्ध छ।
यहाँ असोजदेखि पुष महिनासम्मको समय ‘स्वर्ण ऋतु’ मानिन्छ । यस अवधिमा मात्रै वार्षिक ४० देखि ४५ हजार पर्यटकले बास बस्ने तथ्यांक स्थानीय पर्यटन व्यवसायीहरूले दिएका छन्। बढ्दो पर्यटक आगमनले तुम्लिङलाई अहिले ‘मिनी मुस्ताङ’ भनेरसमेत चिनिन थालेको छ ।
भारतपट्टि अवस्थित सिंहलिला राष्ट्रिय निकुञ्ज नजिकै भएकाले यो क्षेत्र चराविज्ञ, वन्यजन्तु अध्ययनकर्ता र प्रकृति प्रेमीहरूको लागि पनि आकर्षक स्थल बनेको छ । पर्यटन सिजन सुरु भएसँगै यहाँका होटल, रेस्टुरेन्ट र होमस्टे व्यवसायीहरू निकै व्यस्त छन्। स्थानीयवासीले आफ्नै घरलाई होमस्टेमा रूपान्तरण गर्दै पर्यटक स्वागतका लागि तयारी गरेका छन्। चिसो मौसम, चाँैरीगोठ, स्थानीय परिकार र आतिथ्य संस्कृतिले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। स्थानीयहरूका अनुसार, बढ्दो पर्यटनले गाउँमा आर्थिक अवसर, रोजगारी र सांस्कृतिक पहिचानमा नयां ऊर्जा ल्याएको छ। गाउँपालिकाले पनि पर्यटन पूर्वाधार र सडक सुधारमा लगानी बढाउँदै लगेको छ ।











प्रतिक्रिया