सुदूरपश्चिम प्रदेशमा ५० करोडको क्षति


काठमाडौं ।

‘जेन–जी’ आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरूमा भवनबाहेक सवारीसाधन र जिन्सी सामग्रीमा मात्रै ५० करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक मूल्यांकन सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार ६६ वटा चारपाङ्ग्रे र १०० वटा दुईपाङ्ग्रे सवारीसाधन जलेर वा तोडफोड भएर प्रयोग गर्न अयोग्य हुँदा ५० करोड ६३ लाख २४ हजार रुपियाँ बराबरको क्षति आकलन गरिएको छ । सबैभन्दा बढी क्षति भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको छ । जसको भवनबाहेकको क्षति १० करोड ५७ लाख ४६ हजार रुपियाँ रहेको छ सो मन्त्रालयका १४ वटा चारपाङ्ग्रे र २० वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी गरिएको छ ।

दोस्रो सबैभन्दा बढी क्षति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ करोड ७४ लाख रुपियाँ बराबरको भएको छ । तेस्रोमा प्रदेशसभा सचिवालय परेको छ, जसमा ६ करोड ९३ लाख रुपियाँ बराबरको क्षति भएको विवरण छ ।त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ५ करोड रुपियाँ, सामाजिक विकास मन्त्रालयमा ४ करोड २५ लाख ६७ हजार रुपियाँ, आर्थिक मामिला मन्त्रालयमा ३ करोड ७५ लाख ९४ हजार रुपियाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३ करोड ५५ लाख रुपियाँ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ३ करोड ३० लाख रुपियाँको क्षति भएको छ ।

यसबाहेक, मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग, र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सवारीसाधन र जिन्सी सामग्री पनि तोडफोड र आगजनीबाट जलेका छन् ।तथ्यांकअनुसार मुख्य न्यायाधिवक्ता कार्यालयमा १ करोड ७० लाख, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १ करोड २५ लाख, प्रदेश लोकसेवा आयोगमा ३१ लाख ९६ हजार, प्रदेश नीति तथा योजना आयोगमा २५ लाख रुपैयाँ बराबरको क्षतिआगजनी र तोडफोडका कारण भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयका भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रदेशभर २३४ संरचना र ७०८ सरकारी सवारीसाधनमा क्षति भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ।त्यसमध्ये सरकारीतर्फ ५ वटा भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन् कैलालीमा दुई, कञ्चनपुर, बझाङ र दार्चुलामा एक–एक वटा, प्रदेशभर १५१ सरकारी संरचनामा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आंशिक क्षतिमा पनि सबैभन्दा बढी प्रभावित कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन भवन रहेका छन् । व्यावसायिक र निजी क्षेत्रतर्फ ३८ घरमा क्षति पुगेको छ, जसमा कञ्चनपुरका २३ र कैलालीका १५ घर छन्। प्रदेशभर ७०८ सरकारी सवारीसाधन (५७३ दुईपाङ्ग्रे र १३५ पाङ्गे) क्षतिग्रस्त भएका छन् । निजी तर्फ पनि ३ वटा सवारीसाधनमा आगजनी भएको छ ।