चक्रवात ‘मोन्था’को प्रभावः कोशी, मधेश र बागमती प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौँ । 

नेपाल सरकारको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चक्रवात ‘मोन्था’ का कारण आगामी कार्तिक १३ गते बिहीबारदेखि १५ गते शनिबार बिहानसम्म देशका पूर्वी र मध्य प्रदेशहरूमा मौसम प्रभावित हुने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित उक्त चक्रवातको प्रभावले कोशी र मधेश प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा, र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना पनि रहेको छ। प्राधिकरणका अनुसार कोशी, बागमती र मधेश प्रदेशका स–साना नदी–नालामा आकस्मिक बहाव, साथै पहिरो, डुबान र यातायात अवरोध जस्ता जोखिम बढ्न सक्छ।

यसै सन्दर्भमा प्राधिकरणले जनतालाई अत्यावश्यक नभई यात्रा नगर्न, नदी किनार र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन, र धान तथा अन्य बाली सुरक्षित राख्न आग्रह गरेको छ। साथै, तीनै सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला संस्थाहरुलाई पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।