परिवर्तनमा युवा विद्रोह


आगामी माघ ९ गते रिलिजमा आउने फिल्म परिवर्तनको टिजर राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

छठ पर्वको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश रहेको छ। टिजरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। कार्यक्रममा फिल्मका निर्माता तथा कथा लेखक दीपक शिवाकोटीले परिवर्तनले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए।

‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ’ उनले भने। फिल्मका निर्देशक विजय केरुङले टिजरमार्फत परिवर्तनको मुख्य सन्देश दर्शकसमक्ष पु¥याउन खोजिएको बताए। उनका अनुसार फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ।

विजय केरुङको निर्देशनमा बनेको फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु विष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्। शिवम् अधिकारीको लेखनमा बनेको फिल्ममा एसडी योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।