काठमाडौं।
बंगलादेशमा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएन (काभा) कप पुरुष भलिबलमा नेपाल पाँचौ स्थानमा रहेको छ ।
ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हराएको हो । योसँगैं ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले पाँचौं स्थान हासिल ग¥यो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेट टाईब्रेकमा २९–२७ ले आफ्नो पक्षमा पार्दै नेपालले १–० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै नेपालले २–० को अग्रता बनाएको थियो ।
तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा टाईब्रेकमा ३७–३५ ले माल्दिभ्सले आफ्नो पक्षमा पा¥यो । तर, चौथो सेटमा सुरुवात देखि नै हावी बनेको नेपालले उक्त सेट २५–२० ले जितेको हो ।
नेपालले यसअघि यसै प्रतियोगिताको समूह खेलमा माल्दिभ्सलाई ३–० ले सहजै हराएको थियो । तर, प्लेअफमा भने नेपाललाई माल्दिभ्सले कडा चुनौती दियो र एक सेट पनि हात पारेको थियो । माल्दिभ्स सबै पाँचै खेल हारेर छैटो स्थानमा रह्यो ।
नेपालले लिग चरणमा तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग भने जित हासिल गर्न सकेन । बंगलादेशबाहेक अरु सबै प्रतिद्वन्द्वीसँग नेपाली टोली समान ३–० मा हारेको थियो । बंगलादेशसँग भने जितको नजिक पुगेर ३–२ सेटले हारेको थियो ।
तुर्कमेनिस्तानलाई उपाधि
यस वर्षको काभा कपको उपाधि तुर्कमेनिस्तानले जितेको छ । मंगलबार भएको फाइनल खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–२ सेटले हराएर उपाधि जितेको हो । योसँगैं अफगानिस्तानले उपविजेतामै चित्त बुझाउनु प¥यो ।
यस्तै, आयोजक राष्ट्र बंगलादेश भने तेस्रो स्थानको प्लेअफमा खेलमा श्रीलंकासँग ३–० सेटले पराजित भयो । योसँगैं श्रीलंका तेस्रो र बंगलादेश चौथो स्थानमा रहे ।











प्रतिक्रिया