दक्षिण एसियाली एथ्लेटिक्समा नेपाललाई ६ पदक

1.13k
Shares

काठमाडौं।

नेपालले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा कूल ६ पदक जितेको छ । जसमा, २ रजत र ४ कास्य पदक जितेको हो । प्रतियोगितामा नेपालको तर्फबाट राजन रोकाया र सोमबहादुर कुमालले रजत पदक जित्न सफल भएका हुन् । साथै, सोमले कांस्य पदक पनि जितेका छन् ।

सोमले ८ सय मिटर दौडमा रजत जितेका थिए । उनले सो दुरी १ मिनेट ५२.०३ सेकेण्ड समयमा पूरा गरेका थिए । स्वर्ण पदक श्रीलंकाका डीएम हर्ष एस करुणले जिते । उनले सो दुरी १ मिनेट ५१.९६ सेकेण्डमा पूरा गरेका थिए । यस्तै, सोमले नेपालको लागि ४ गुणा ४ सय मिक्स रिले दौडमा कास्य पदक जित्न योगदान दिए ।

सन्तोषीले भने कांस्य पदक जिते पनि राष्ट्रिय कीर्तिमान रच्न सफल भइन् । उनले महिला १० हजार र ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्दै दुबै विधामा राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । उनले १० हजार मिटर दौडमा ३४ मिनेट ४७.७७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान निर्धारण गरिन् । उनले कान्छीमाया कोजुले सन् २००६ मा राखेकी ३५ मिनेट ०३ सेकेण्डको कीर्तिमान तोडेकी हुन् ।

यसैगरी सन्तोषीले ५ हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन् । उनले सो दूरी १६ मिनेट ३६.६१ सेकेन्ड समयमा पूरा गरेर कान्छीमायाकै कीर्तिमानलाई छायामा पारेकी थिइन् । कान्छीमायाले सो विधातर्फ १६ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । अब, यो कीर्तिमान सन्तोषीको नाममा भएको छ । यस विधामा स्वर्ण र रजत दुबै भारतीय धाविकाले जितेका थिए ।

राजन रोकायाले पुरुष १० हजार मिटर दौडमा रजत पदक जितेका थिए । उनले उक्त दुरी पूरा गर्न ३० मिनेट ३९.१५ सेकेन्डको समय लगाएका थिए । जबकी पहिलो हुने भारतका अभिषेकले ३० मिनेट २९.४६ सेकेण्डको समय निकालेका थिए ।

यसैगरी मुकेश पालले पुरुष ५ हजार मिटर दौडमा कास्य पदक जितेका थिए । उनले १४ मिनेट २५.५४ सेकेन्डमा दौड पूरा गरेका थिए । मिक्स रिलेमा कास्य पदक जित्ने टोलीमा सोमसहित रमिता कुमारी थारु, जयरानी थारु, राम प्रसाद थारु थिए । टोलीले ४ गुणा ४ सय मिक्स रिले दौडमा ३ मिनेट ३७.१६ सेकेन्डमा दौड पूरा गरेको थियो । ३ दिन सम्म चलेको च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले सहभागिता जनाएका थिए ।

३६ स्वर्ण भारत र श्रीलंकाले बाँडे
प्रतियोगितामा कूल ३६ स्वर्ण आयोजक राष्ट्र भारत र श्रीलंकाले बाँडेका छन् । भारतले २० स्वर्ण जित्दा श्रीलंकाले १६ स्वर्ण हासिल गरेको थियो । अन्य सहभागी रहेको टोलीमा नेपालले मात्रै रजत पदक जितेको थियो । बाँकी टोली बंगलादेश र माल्दिभ्सले कांस्य पदक मात्रै जिते भने भुटानले कुनै पदक जित्न सकेन ।