दक्षिण चीन सागरमा दुई अमेरिकी नौसेना विमान दुर्घटनाग्रस्त


काठमाडौँ।

दक्षिण चीन सागरमा आइतबार अमेरिकी नौसेनाका दुई छुट्टाछुट्टै विमान दुर्घटनामा परेका छन्। दुबै घटनामा चालक दलका सदस्यहरू सकुशल उद्धार गरिएको अमेरिकी नौसेनाले जनाएको छ।

अमेरिकी नौसेनाको प्रशान्त फ्लीटले जारी गरेको विज्ञप्तिअनुसार पहिलो दुर्घटना नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमिट्ज बाट उडान भरिरहेको MH-60R सी हक हेलिकप्टर दक्षिण चीन सागरमा खसेर दुर्घटनाग्रस्त भएको हो। जहाजमा रहेका तीनै जना चालक दलका सदस्यहरूलाई उद्धार गरी सुरक्षित रूपमा निकालिएको बताइएको छ।

लगभग आधा घण्टा पछि सोही विमानवाहकबाट उडान भर्ने क्रममा बोइङ एफ/ए–१८एफ सुपर हर्नेट लडाकु विमान पनि दुर्घटनामा परेको नौसेनाले जनाएको छ। सो विमानमा सवार दुवै पाइलटले समयमै इजेक्सन गरी सुरक्षित रूपमा उद्धार भएको पुष्टि गरिएको छ।

नौसेनाका अधिकारीहरूले दुबै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

दुर्घटनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमणको क्रममा भएका हुन्। ट्रम्प हाल जापानमा छन् भने यसअघि इन्डोनेसियामा औपचारिक कार्यक्रममा सहभागी भएका थिए।

यसअघि पनि यस वर्षको सुरुवातमा अमेरिकी विमानवाहक ह्यारी एस. ट्रुम्यानको सञ्चालनको क्रममा मध्यपूर्वमा दुई अमेरिकी लडाकु विमान खसेका थिए। -बीबीसीबाट