निर्यात ९० प्रतिशतले बढे पनि व्यापार घाटा उस्तै


काठमाडौं।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैयमासमा नेपालबाट निर्यात उल्लेख्य मात्रामा वृद्धि भएको देखिए पनि कुल वैदेशिक व्यापार भने झनै घाटामा गएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ । साउनदेखि असोज मसान्तसम्मको अवधिमा निर्यात ८९.६४ प्रतिशतले बढ्दै ७२ अर्ब ७८ करोड रुपियाँ पुगेको छ । तर, सोही अवधिमा आयात १९.७९ प्रतिशतले बढ्दै ४ खर्ब ६८ अर्ब रुपियाँ नाघेपछि समग्रमा व्यापार घाटा १२.१८ प्रतिशतले वृद्धि भएको हो । आयात वृद्धि निर्यातभन्दा गुणात्मक रूपले धेरै भएकाले व्यापार असन्तुलन अझ गहिरिँदै गएको देखिन्छ।

गत वर्षको सोही अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड रुपियाँको आयात र ३८ अर्ब ३७ करोड रुपियाँको निर्यात भएको थियो । त्यसको तुलनामा चालु वर्षको ३ महिनामा व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोडबाट बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपियाँ पुगेको हो । कुल व्यापार २६.०४ प्रतिशतले विस्तार भए पनि यसले समग्र व्यापार आकार बढेको मात्र देखाएको छ, व्यापार सन्तुलनमा भने सकारात्मक परिवर्तन आएको छैन ।

निर्यात वृद्धि असामान्य दरमा देखिनुको प्रमुख कारण भटमास (सोयाबिन) तेल निर्यात हो । पहिलो त्रैयमासमा मात्र कुल निर्यातको ४२.१७ प्रतिशत हिस्सा एक्लै सो वस्तुले ओगटेको भन्सार विभागको तथ्यांक छ । कुल निर्यात ७२ अर्ब ७८ करोडमध्ये ३० अर्ब ६९ करोड रुपियाँ बराबरको भटमास तेल विदेशिएका कारण नेपालको निर्यात अंश उच्च देखिए पनि बढ्दो वैदेशिक निर्भरता दीर्घकालीन रूपमा असुरक्षित मानिन्छ । गत वर्ष सोयाबिन तेलको हिस्सा जम्मा २.४६ प्रतिशत मात्र भएकाले वर्तमान संरचना टिकाउभन्दा कृत्रिम निर्यात वृद्धि भएको विश्लेषण छ ।

नेपालको व्यापार असन्तुलनमा परम्परागत रूपमा भारत र चीन नै मुख्य कारक बनेका छन् । पहिलो त्रैमासमा नेपालले भारतसँग मात्रै १ खर्ब ९९ अर्बभन्दा बढी घाटा बेहोरेको छ, जबकि चीनसँगको घाटा १ खर्ब ४ अर्ब रुपियाँ नाघेको छ । यसको विपरित डेनमार्क, जर्मनी, रोमानिया र स्वीडेनसँग भने नेपाल सकारात्मक सन्तुलनमा देखिएको भए पनि ती देशहरूसँगको व्यापार परिमाण अत्यन्त सीमित छ, जसले समग्र सन्तुलनमा खासै भूमिका खेल्न सकेको छैन ।

आयाततर्फ पेट्रोलियम पदार्थ नै ठूलो ‘बोझ’ बन्ने क्रम यथावत नै छ । पेट्रोल, डिजेल र एलपी ग्यास आयातमा मात्र ठूलो रकम बाहिरिएको छ भने स्मार्टफोनजस्ता उपभोग्य वस्तुहरू पनि आयात सूचीमा माथिल्लो स्थानमै रहेका छन् । विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म नेपालले पेट्रोल, डिजेल र एलपी ग्यास गरी ६७ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ, जसले आयात सूचीमा पेट्रोलियम पदार्थलाई अग्रस्थानमा उभ्याएको छ ।

भन्सार तथ्यांकअनुसार तीन महिनामा १६ अर्ब ७८ करोड ८७ लाख बराबरको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख बराबरको एलपी ग्यास आयात भएको छ । ऊर्जा उपभोगमा परनिर्भरता बढ्दै गएको र नेपालले वैकल्पिक ऊर्जा प्रवद्र्धनमा अझै ठोस परिणाम निकाल्न नसक्दा पेट्रोलियम पदार्थको भार आयात बजेटमा वर्षेनी बढिरहेको अर्थतन्त्रविद्हरूको मूल्यांकन छ ।

पेट्रोलियमपछि वनस्पति तेल दोस्रो ठूलो आयात हुने वस्तु बनेकोे छ । यस क्रममा कुल ४० अर्ब रुपियाँभन्दा बढीको वनस्पति तेल आयात हुँदा, ३४ अर्ब रुपियाँबराबरका विद्युतीय सामग्री तथा पार्टस आयात भएका छन् । फलाम तथा स्टिलजन्य सामग्रीको आयात पनि तीन महिनामा करिब ३४ अर्ब रुपियाँ पुगेको छ, जसले निर्माण तथा पूर्वाधार क्षेत्रको आयात निर्भरता उस्तै उच्च रहेको देखाएको छ ।

यस अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपियाँ बराबरको स्मार्टफोन आयात भएको तथ्यांकले उपभोग–केन्द्रित आयात प्रवृत्ति यथावत रहेको संकेत गरेको छ । आयातको प्रकृति उपभोगमुखी र निर्यातको संरचना एकमुखी रहेसम्म व्यापार घाटा घट्ने सम्भावना न्यून रहन्छ । जेन–जी आन्दोलनपछि केही समय बजार माग घट्न सक्ने अनुमान गरिएको थियो । तर असोजमा मात्रै १ खर्ब ८८ अर्बभन्दा बढीको वैदेशिक व्यापार भएको तथ्यांकले उपभोग बजार अपेक्षित रूपमा बढेको संकेत गरेको धारणा छ । चाडपर्व सिजनले आयातलाई थप तानेको छ । समग्रमा, त्रैयमासिक तथ्यांकले नेपालमा आयात–निर्यात दुवै बढ्दो गतिमा रहे पनि निर्यातको दिगोपन र संरचना नबदलिए व्यापार घाटा दीर्घकालीन चुनौतीकै रूपमा रहने प्रष्ट संकेत दिएको छ ।