काठमाडौं।
पछिल्लो समय लगानीका लागि सुरक्षित माध्यमको रूपमा सुनप्रति लगानीकर्ताहरूको आकर्षण बढेसँगै नेपालमा सुनको आयात उल्लेख्य रूपमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा १० अर्ब २५ करोड ३२ लाख रुपियाँ बराबरको ६०१ किलो सुन आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आयातको तुलनामा करिब ६ गुणा बढी हो ।
भन्सार विभागका अनुसार यो परिमाणको सुन आयातबाट सरकारले करिब १ अर्ब २ करोड ५३ लाख रुपियाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तीन महिनामा भने १ अर्ब ४ करोड ३२ लाख रुपियाँ बराबरको एक सय किलो सुन आयात भएको थियो । नेपालमा वाणिज्य बैंकहरू काँचो सुन आयात गर्छन् भने व्यवसायीहरूले उक्त सुन खरिद गरी गरगहना बनाई बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले गत असोजमा सुनको आयात कोटा दैनिक २० किलोबाट बढाएर २५ किलो पु¥याएको छ । बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण २५ किलो कायम गरिएको जानकारी दिएको छ । यस निर्णयले सुनको आपूर्ति बढाउने उद्देश्य लिएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७ करोड १५ लाख रुपियाँ मूल्य बराबरका सुनका गरगहना आयात भएका छन् । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७३ लाख रुपियाँ बराबरका सुनका गरगहना आयात भएका थिए । यसरी हेर्दा गरगहना आयातमा भने खुम्चिएको देखिन्छ ।
त्यस्तै, चालु आर्थिक वर्षको तीन महिनामा २० करोड १३ लाख रुपियाँ बराबरको १ हजार किलो चाँदी आयात गरिएको छ । यसबाहेक, चाँदीको धुलो पनि व्यापक परिमाणमा आयात भएको छ । यस अवधिमा ८ हजार १ सय ३० किलो चाँदीको धुलो आयात गरिएको छ, जसको मूल्य १ अर्ब ६१ करोड ३४ लाख रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चाँदीको धुलो ५ हजार ४६५ किलो मात्रै आयात भएको थियो, जसको मूल्य ७३ करोड १६ लाख रुपियाँ थियो ।
यसैबीच तिहारपछिको पहिलो दिन आइतबार खुलेको नेपालको सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपियाँले घटेर २ लाख ४१ हजार ९ सय रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तिहार बिदाअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपियाँ रहेको थियो । यस गिरावटको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा आएको भारी मूल्य गिरावट मानिएको छ । अघिल्लो मंगलबार सुनको अन्तर्राष्ट्रिय मूल्यमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको थियो । उक्त दिन सुनको मूल्य ६ प्रतिशतभन्दा बढीले घट्दै प्रतिऔंस ४ हजार ८२ डलरमा झरेको थियो, जुन सन् २०१३ अप्रिल यताकै एकै दिनको सबैभन्दा ठूलो गिरावट हो । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही सुधार हुँदै प्रतिऔंस ४ हजार ११३ डलरमा कारोबार भइरहेको थियो। यद्यपि शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले तत्काल थप उतारचढाव देखिएको छैन ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदी प्रतितोला २ सय ६५ रुपियाँले घट्दै ३ हजार १५ रुपियाँमा कारोबार भएको थियो । तिहारअघिको दिन अर्थात् कात्तिक ३ गते चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपियाँमा कारोबार भएको थियो । यसरी, पछिल्लो केही महिनामा सुन–चाँदीको आयात र मूल्य दुवै पक्षमा उल्लेख्य परिवर्तन देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटले नेपालमा पनि प्रत्यक्ष प्रभाव पारेको छ भने आयात वृद्धिले सरकारी राजस्वमा सकारात्मक योगदान पु¥याएको छ । लगानीकर्ता र उपभोक्ताका लागि सुनको मूल्य अझै अस्थिर देखिँदा सावधानी आवश्यक देखिन्छ ।











प्रतिक्रिया