संगीतमा युवा तिमीलाई सलाम


देशका साहसी युवाहरूलाई समर्पित गर्दै भावनात्मक गीत युवा तिमीलाई सलाम सार्वजनिक गरिएको छ।
गीत गत भदौ २३ गतेको जेन–जी विद्रोहमा देशका लागि बलिदान भएका युवाहरूको स्मृतिमा तयार गरिएको हो। गीतमा गायकगायिका प्रोसेस पाण्डे, मृणल मानन्धर, पितु गहतराज, जिदन गुरुङ, समिक्षा दाहाल र राज सायमीको स्वर रहेको छ भने हरि लम्सालको संगीत, नरेश प्रधानको शब्द र देवेन्द्र नेवाःको संगीत संयोजन र महेश्वरमान राजभण्डारीको मिक्सिङ र मास्टरिङ रहेको छ।

गायिका बुनु श्रेष्ठको कथा र परिकल्पनामा तयार भएको गीतले शोकलाई शक्तिमा रूपान्तरण गर्न युवाहरूलाई आ≈वान गर्दै देशका जुझारु र जिम्मेवार युवालाई एकतावद्ध भएर देश विकासको यात्रामा अघि बढ्न प्रेरित गरेको छ। भिडियोमा गायिका बुनु श्रेष्ठ र शान्ति मगरको अभिनयले गीतको भावनालाई जीवन्त बनाएको छ। भिडियोमा युवाको सपना, संघर्ष र देशप्रतिको समर्पणलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। जेनजी आन्दोलनमा हृदयविदारक दृश्यहरू प्रतिकात्मक रुपमा चित्रण गरिएको छ।
स्टुडियो साउण्डमिलको प्रस्तुतिमा तयार गरिएको गीतमा एजे अजुको निर्देशन र छायांकन तथा अनिल विष्ट प्युठानीको सम्पादन रहेको छ।