पर्वतमा ककाकिकी


लोकप्रिय टेलिभिजन हास्य शो कमेडी दरबार टिमले निर्माण गर्न लागेको फिल्म ककाकिकीको छायाँकन पर्वतको भूकदेउरालीबाट सुरु गरिएको छ। फिल्मको २० दिनसम्म पर्वतमा ग्रामीण परिवेशका दृश्य छायाँकन हुनेछ। त्यसपछि काठमाडौंमा छायाँकन गरिने फिल्मका निर्देशक बिक्की अग्रवालले जानकारी गराए।

फिल्म छायाँकनका लागि यसका प्रायः जसो कलाकार पर्वत पुगेका छन्। तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापालगायतका कलाकारले फिल्मको छायाँकन गरिरहेका छन्। अभिनेत्री गौरी मल्ल केही दिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रद्धा प्रसाईंले जानकारी गराएकी छन्। उनका अनुसार अन्य केही कलाकार बिचमा जोडिँदै जानेछन्। फिल्म बिक्की र श्रद्धाले संयुक्त रूपमा निर्देशन गरिरहेका छन्।

फिल्ममा लेखन निर्देशक बिक्कीसँगै विकाश अर्याल र सरोज भण्डारी, पटकथा निर्देशक बिक्की, स्क्रिप्ट डाक्टर विश्वास तिम्सिना र छायाँकन सुदीप बरालको रहनेछ। निर्माण टिमले यसअघि फिल्मको एक पोस्टर सार्वजनिक गर्दै निर्माणको औपचारिक घोषणा गरेको थियो। पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको छ। पोस्टरले फिल्मको कथा रहस्यमय रहेको संकेत गरेको छ।