इलाम।
इलाममा अहिले खेलकुद प्रेमीहरू बीच उत्साहको नयाँ लहर छ । यसको प्रमुख कारण हो, इलामको ऐतिहासिक ठूलो टुँडिखेल हरियो घाँसे मैदानमा रुपान्तरण भइसकेको छ । यही मैदानमा इलाम गोल्डकप र महिला अन्तर्राष्ट्रिय गोल्डकप जस्ता ठूला प्रतियोगिता हुँदै आएका छन । तर त्यो मैदान कडा थियो, जसले खेलाडीको सुरक्षा चुनौतीपूर्ण बनाउने गर्दथ्यो । धेरै पटक खेलाडीहरू मैदानमै घाइते भएका थिए । तर त्यो समस्या अब समाप्त हुने विश्वास लिन सकिन्छ ।
रेडहर्ष फुटबल क्लब र क्लब ओएसिसको संयुक्त प्रयासमा मैदानमा दुबो रोपिएको छ । यस अभियानमा इलामका खेलप्रेमीहरूले जनश्रमदान समेत गरेका थिए।
गत फागुनमा भएको महिला गोल्डकपपछि मैदान करिब आठ महिनासम्म खेलकुद गतिविधिबाट टाढा रह्यो । त्यही समयमै दुबो रोप्ने र मर्मतको कामहुँदै अहिले यो मैदान पूर्ण रूपमा हरियो रूपमा फर्किएको छ ।
दुबो रोप्ने काममा मात्रै करिब ६ देखि ७ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै केही स्तरोन्नतिको लागि करिब एक लाख रुपैयाँ थप खर्च लाग्ने अनुमान गरिएको रेडहर्ष एफसिका महासचिब प्रकाश घिमिरेले बताए ।
यही मैदानमा आउँदो माघ महिनामा रेडहर्ष फुटबल क्लबले चौथो इलाम गोल्डकप र फागुनमा क्लब ओएसिसले तेस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकप गर्ने तयारी सुरु गरिसके । यो मैदान नेपाली सेनाको स्वामित्वमा भएकाले सबै सुधारका काम उनीहरूको पूर्ण समन्वयमा सम्पन्न भएको हो । यसले इलामका खेलाडी र खेलप्रेमीहरू यो हरियो घाँसे मैदानमा फूटबलको मज्जा लिन पाउने भए ।











प्रतिक्रिया