लन्डन, (एजेन्सी)
अमेरिकाको घरेलू फुटबल संरचना मेजर लिग सकर (एमएलएस) को प्लेअफ अन्तर्गत पहिलो चरणको खेलमा इन्टर मायामीले सहज जित हात निकाल्दा मेसी नायक बनेका छन ।
शनिबार बिहान भएको खेलमा मायामीले पाहुना टोली नासभिलेमाथि ३–१ गोलअन्तरको जित निकाल्यो । घरेलु मैदान चेस रंगशालामा भएको सो खेलमा मायामीलाई जिताउने क्रममा कप्तान लियोनल मेसीले नायकी प्रदर्शन गर्दै दुई गोल गरे भने अर्को एक गोलमा योगदान गरे । मायामीले १९औं मिनेटमा मेसीको गोलबाट अग्रता लिएको थियो । लुइस स्वारेजको एरियल पासमा मेसीले पोस्ट नजिकैबाट फ्लाइङ हेडिङमा बललाई गोल पोस्टमा छिराएका थिए । हेडिङबाट विरलै मात्रै गोल गर्ने मेसीले उक्त खेलमा आकर्षक हेडिङ गोल गर्न सफल भए । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ६२औं मिनेटमा मेसीले नै चलाखीपूर्वक सिर्जना गरेको अवसरमा टाडेओ एलेन्डेले गोल गरेर अग्रता दोब्बर बनाए ।
त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा मेसीले अर्को गोल थपेपछि टिम ३–० ले विजयी भयो । यस खेलमा ११ मिनेट इन्जुरी समय दिइएको थियो । नासभिलेका गोलकिपरको हातबाट बल फुत्किएपछि छेउमै भएका मेसीले खाली पोस्टमा सहजै गोल गरेका थिए । यस खेलमा दुई गोल गरेसँगै मेसीले यस सिजन लिगमा गरेको कुल गोल संख्या ३१ पुगिसकेको छ । साथमा, १६ असिस्टको विशाल रेकर्ड पनि छँदैछ ।
अब मायामीको अर्को खेल नोभेम्बर २ मा नासभिलेसँगै हुनेछ । पहिलो चरणको प्लेअफका दुई टिमले आपसमा तीन म्याच खेल्नेछन । जसमा दुई खेल जित्ने टिम अर्को चरणमा प्रवेश गर्नेछ । पहिलो खेल जितेपछि मायामीले अग्रता लिएको छ । दोस्रो खेल हुँदा नासभिलेमाथि भने जितको ठूलो दवाब रहनेछ ।











प्रतिक्रिया