मुगुका किसानलाई मार्सी धान भित्र्याउन भ्याइनभ्याइ

940
Shares

मुगु

मुगुका किसानलाई अहिले मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ । उनीहरु एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान भित्र्याउने कार्यमा व्यस्त हुने गरेका छन् । 

विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको मार्सी धान अहिले रोग किराको संक्रमणका कारण उत्पादन घट्दै गए पनि किसानहरुले खेती गर्न छाडेका छैनन् ।

मार्सी धान उत्पादनमा कमी भए पनि बजारमा माग र मूल्य अधिक छ । अधिकांश किसानले थोरबहुत उत्पादन भएको मार्सी धानको चामल सदरमुकाममा रहेका कोशेली घरहरुमा बेच्ने गरेका छन् ।

दसैं सुरु भएसँगै मुगका किसान धान भित्र्याउने कार्यमा जुटेका हुन् । मार्सी धानको आफ्नै क्यालेण्डर छ । त्यही क्यालेण्डरका आधारमा किसानहरु धान भित्र्याउन लागेको स्थानीय बृष रावलले जानकारी दिए । उनका अनुसार अहिले मार्सी धानका फाँटहरुमा किसानहरु व्यस्त छन् । यो धान चैतमा बीउ राख्ने, जेठ/असारमा रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज-कात्तिकभित्र घर भित्र्याइन्छ ।

कृषि विकास कार्यालयका अनुसार आव २०८०/८१ मा मुगुमा  मार्सी धान १हजार तीन सय मेट्रिक टन उत्पादन भएको थियो । जसमध्ये दुई सय मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो । मुगको गिलाहाँ, कच्चे, कालै, धैन, सुकाडिक र पुरुमुरु क्षेत्रका किसान अहिले खेतमै रमाइरहेका छन् ।

अहिले किसानले मार्सी धानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको चन्दननाथ १ र चन्दननाथ ३ का साथै हिमाली १ र हिमाली ३ जातको धान समेत रोप्ने गरेका छन् ।

जुम्ली मार्सी धान पहिचानसँग जोडिएको र महँगोमा किनबेच हुने भएकोले किसानले रोग किराको संक्रमणका बीच पनि रोप्न छाडेका छैनन् । अहिले मार्सी चामल सदरमुकाम खलंगामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ ।

कर्णालीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लैजाने गरेका हुन् । मार्सी चामल अडिलो, स्वादिलो र पोषिलो हुने भएकोले ठूला होटलहरुको खान्कीसमेत बनेको छ । मार्सी धान मुगुको साधै कर्णालीका जुम्ला ,कालिकोट ,हुम्ला जिल्लाका जिउला मा समेत मार्सी भित्र्याउने बेला भयको छ यतिबेला पानी नपरी धान खेतमै सुक्ने भयपछि धान कृषक खुसी भयका छन्।