काठमाडौँ।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेहरू विमानस्थलमा कार्यरत दुई जना ग्राउन्ड स्टाफ हुन्। विमान अवतरणका क्रममा उनीहरू सवार गाडीसँग ठोक्किएपछि गाडी समुद्रमा खसेको र विमान पनि धावनमार्गबाट चिप्लिएर समुद्रमा पुगेको जनाइएको छ।
विमानमा रहेका चारै जना चालक दलका सदस्य जीवितै उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
दुर्घटना सोमबार बिहान स्थानीय समय अनुसार करिब ३:४० बजे भएको हो। उक्त विमान एमिरेट्सको उडान EK9788 रहेको बताइएको छ, जसलाई टर्कीको कार्गो एयरलाइन्स ‘एयर एसी’ ले सञ्चालन गर्दै आएको थियो। दुर्घटनाग्रस्त विमान बोइङ ७४७–४८१ मोडेलको थियो।
विमानस्थल प्राधिकरणका अनुसार दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु भएको छ। विस्तृत विवरण सार्वजनिक गर्नका लागि सोमबार बिहान १०:०० बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ।











प्रतिक्रिया