हेटौंडा।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी करिब ३३ वर्षीया मिठ्ठुमाया सुनारको घर वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा बनाएर हस्तान्तरण गर्नुभएको छ ।
आइतबार बिहान मिठ्ठुमायाको ओठ हाँसिरहे पनि आँखा भने टिलपिल भइरहेको देखिएको थियो । उहाँको हातमा तीनकोठे घरको चाबी अनि आफ्नै घरको दैलोमा आयोजना भएको कार्यक्रम हेर्दै बेलाबेलामा भक्कानिइरहनुभयो उहाँ । ‘घर बनिहाल्यो अब यहीँ त बस्ने हो,’ उहाँको जवाफपछि हाँस्दै उहाँका छोराहरू पनि घरको कोठा कोठा चहारिरहेका देखिन्थे ।
१४ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिनुभएकी मिठ्ठुमायाले १५ वर्ष उमेरमा छोरालाई जन्म दिनुभएको थियो । जेठो छोरापछि तीन छोरा र एक छोरी जन्मिए । पतिको मृत्यु भएको ७ वर्ष बित्यो । पतिको मृत्युपछि छोराछोरीको हेरचाह, स्याहारसुसारको जिम्मेवारी काँधमा बोक्नुभएकी थियो उहाँले । आइतबार भने उहाँले चुहिने र भत्किनै लागेको घर छाडेर नयाँ अनि चिटिक्क परेको तीनकोठे घरमा बस्न पाउनुभएको छ ।
तीनकोठे पक्की घरको साँचो हातमा थमाइएपछि मिठ्ठुमायाले भक्कानिँदै भन्नुभयो–मैले धेरै दुःखकष्ट भोगेकी छु । चार सन्तान हुर्काउन, खुवाउन, लगाउन दिन नसक्ने मैले यिनीहरूलाई राख्न घर बनाउन सकौंला भन्ने लागेकै थिएन । मुख्यमन्त्री र गाउँपालिका अध्यक्षलगायतको सहयोगले घर बनेको छ । यो भन्दा खुशी मेरो लागि केही हुँदैन ।
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएर पदभारग्रहण गर्दैगर्दा तलबभत्ताको सेवासुविधा नलिने घोषणा गर्नुभएको थियो । उक्त तलब तथा अन्य सेवा सुविधामार्फत प्राप्त हुने रकमले विपन्न नागरिकको आवास निर्माण गरिदिने निर्णय गरिएकोमा मुख्यमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने मिठ्ठुमायाको घर निर्माण गरेर हस्तान्तरण गर्नुभएको छ ।
गाउँपालिकाको सिफारिसमा मिठ्ठुमायाको घर बनाउने निर्णय गरिएको थियो । नवनिर्मित घरको साँचो हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले सेवाभावले राजनीतिमा लागेको बताउँदै गरिब र दुःखीको सेवामा आफू सधैं लागिरहने प्रतिवद्धता जनाउनुभयो । ‘मेरो तलबभत्ताको रकमबाट उहाँको घर बनाइदिन्छु भन्ने निर्णय गरेँ,’ बानियाँले व्यक्तिगत खर्च र साथीभाइको सहयोगबाट घर निर्माण सम्पन्न गरेर दिन सकेको बताउनुभयो । उहाँको परिवारले तिहार यो नयाँ घरमा मनाउँदै हुनुहुन्छ ।
घर, खानेपानी धारा जडान तथा बिजुलीसमेत जडान गरेर तयार गरिएको घर हस्तान्तरणपश्चात मुख्यमन्त्री बानियाँले मिठ्ठुमायाको हातमा तिहार खर्चका लागि २० हजार थमाउनुभयो । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो तलब सुविधाबापतको रकमले पालिकाका विपन्न परिवारका लागि घर निर्माण गर्दै आउनुभएको छ ।
घर हस्तान्तरण कार्यक्रममा वागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझीले पनि आफ्नो व्यक्तिगत खर्चबाट मिठ्ठुमायाको परिवारलाई भान्सामा प्रयोग हुने सामानहरू र चामल सहयोग गर्नुभयो । उहाँले भन्नुभयो–एकले थुकी सुकी, हजारले थुकी नदी भनेझैं हुन्छ भन्ने विश्वासले मैले मिठ्ठुमायाका लागि केही सामान सहयोग गरेकी हुँ । मुख्यमन्त्री बानियाँले यसै महिनाभित्र राक्सिराङ गाउँपालिका–१, इन्द्रुङका सुमन चेपाङको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बताउनुभयो ।
बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलबभत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकले यसअघि नै चेपाङ, दलित, बोटे, जिरेल, हायु, बनकरियालगायत अतिविपन्न र सीमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकतासाथ नीतिगत व्यवस्था गरिने निर्णयसमेत गरेको थियो ।











प्रतिक्रिया