ट्रम्पका नीतिविरुद्ध ७० लाख नागरिक सडकमा


वासिङ्टन (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध अमेरिकाभर एकैसाथ आयोजित प्रदर्शनमा करिब ७० लाखभन्दा बढी नागरिक सहभागी भएका छन् । देशका २ हजार ६ सयभन्दा बढी स्थानमा एकैदिन भएका प्रदर्शनहरू शान्तिपूर्ण ढंगले सम्पन्न भएका थिए ।

सञ्चार माध्यमका अनुसार सहभागीहरूले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति, महिला अधिकारमा हस्तक्षेप, वातावरणीय विषयमा अपनाइएका कटौती र प्रेस तथा न्यायालयमाथिको प्रभावजस्ता कदमको विरोध गरेका थिए । उक्त प्रदर्शनमा एक जना पनि प्रदर्शनकारी पक्राउ नपरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । यति ठूलो संख्यामा नागरिक सडकमा उत्रिँदा पनि कुनै अप्रिय घटना नघट्नु लोकतान्त्रिक संस्कार र नागरिक चेतनाको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।

राजधानी वासिङ्टन डीसी, न्युयोर्क, सिकागो, सान फ्रान्सिस्को, ह्युस्टन, सियाटल, लसएन्जलसलगायत प्रमुख सहरमा विशाल जनसमूहको सहभागिता देखिएको थियो । प्रदर्शनमा महिलादेखि विद्यार्थी, पूर्व सैनिक, शिक्षक, कलाकार तथा सामाजिक अभियन्तासम्मको उपस्थितिले विविध वर्गको प्रतिनिधित्व गरेको देखिन्थ्यो ।
सामाजिक सञ्जालमा स्टयान्ड फर फ्रिडम र मार्च फर जस्टिस ह्यासट्यागहरू तीव्र गतिमा ट्रेन्ड भइरहेका छन् । विश्लेषकहरूले यस आन्दोलनलाई अमेरिकी जनतामा ट्रम्प प्रशासनप्रति बढ्दो असन्तुष्टिको संकेतका रूपमा व्याख्या गरेका छन् । अमेरिकाको हालसालैको इतिहासमा यति ठूलो जनसमूह एकैपटक सडकमा उत्रिएको यो पहिलो घटना मानिएको छ ।