एमएलएसका सर्वाधिक गोलकर्ता मेसीलाई गोल्डेन बुट


लन्डन, (एजेन्सी)

इन्टर मायामीका सुपरस्टार तथा अर्जेन्टिनी कप्तान लियोनल मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) २०२५ को गोल्डेन बुट जितेका छन् ।
३८ वर्षको उमेरमा पनि असाधारण प्रदर्शन जारी राख्दै उनले नियमित सिजनमा २९ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ता बनेका हुन् । आइतबार बिहान सम्पन्न सिजनको अन्तिम खेलमा इन्टर मायामीले नासभिलेमाथि ५–२ को शानदार जित दर्ता गर्दा मेसीले एक पेनाल्टीसहित ह्याट्रिक पूरा गरे । उनले थप एक गोलका लागि असिस्ट पनि गरे । यो सिजन उनले २८ खेलमा २९ गोल र १६ असिस्टसहित ४५ गोलमा प्रत्यक्ष योगदान दिएका छन । जुन एमएलएस इतिहासकै एक सिजनमा सर्वाधिक प्रभावशाली प्रदर्शनमध्ये एक हो ।

मेसीले सिजनभर १५ भन्दा बढी असिस्ट गर्ने एमएलएस इतिहासकै पहिलो खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन् । गोल्डेन बुटका लागि उनका निकटतम प्रतिस्पर्धी डेनिस बोउआङ्गा (लस एन्जलस एफसी) र साम सुरिड्ज (नासभिल) रहे, जसले समान २४–२४ गोल गरेका थिए । यो उपलब्धिसँगै मेसीले आफ्नो क्लब फुटबल करियरको नवौँ गोल्डेन बुट जितेका छन् । बार्सिलोना खेल्ने १७ वर्षे करियरमा उनले आठ पटक ला लिगाको ‘पिचिची’ अवार्ड जितेका थिए । युरोपेली टप–५ लिगहरूमा उनले ६ पटक युरोपियन गोल्डेन बुट जितेका थिए, तर पिएसजीमा उनले यो सम्मान प्राप्त गर्न सकेनन् । इन्टर मायामीमा भने उनको पुनरागमन प्रभावशाली रह्यो ।

यद्यपि व्यक्तिगत रूपमा मेसीको सिजन सफल रहे पनि इन्टर मायामी क्लबका लागि मुख्य चुनौती अब लिग उपाधि जित्ने हो । यदि मायामीले आगामी प्लेअफ चरण पार गर्न सकेन भने क्लब उपाधिविहीन रहनेछ । एमएलएसले आफ्नो आधिकारिक वेबसाइटमार्फत मेसीलाई गोल्डेन बुट विजेता घोषणा गर्दै बधाई दिएको छ । उमेरले ३८ पुगेका मेसीले देखाएको निरन्तरता र उच्चस्तरीय प्रदर्शनले उनलाई अब ‘बेस्ट प्लेयर अफ द सिजन’ अवार्डको बलियो दावेदार बनाएको छ ।