एसियाली युथ गेम्समा ७ खेलाडीको सहभागी हुने


काठमाडौं ।

बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् । पहिलो टोलीका रुपमा मुवाँथाई टोली मंगलबार बहराइन जाने छ । गल्फका रुवेन विदेशमा रहेकाले त्यत्तैबाट बहराइन जाने छन् । उक्त प्रतियोगितामा टेबलटेनिसका अन्तर्राष्ट्रिय अम्पायर तेजेन्द्रसिंह महराले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।